उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ। वडा नं. ३ स्थित गाउँपालिका केन्द्र बाराहामा ३ तले बहुकोठे अत्याधुनिक र सुविधा सम्पन्न भवनको निर्माण थालनी भएको हो।
अत्याधुनिक भवनको हाल जग खन्ने काम सम्पन्न भइसकेको छ भने यही महिनाभित्र पिल्लर उठाइ सक्ने गरी कामदार र प्राविधिक जनशक्ति खटाइएको छ। गाउँपालिकाले २ करोड र संघीय सरकारबाट बाँकी रकमले सो भवन निर्माण गर्ने प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताए। तर, संघीय सरकारबाट कति रकम आउने भन्ने यकिन हुन सकेको छैन।
अधिकृत लिम्बुले प्रशासनिक भवन अभावमा गाउँपालिकामा काम गर्न धेरै असहज भइरहेको बताए। ३ दर्जन बढी कर्मचारी, बिभिन्न विषयगत शाखा र समितिमा आबद्ध कर्मचारीलाई भवनको अभावमा स्थानीयका ससाना दर्जन हाराहारी पुराना निजी घरटहरा भाडामा लिएर काम चलाउनु पर्ने बाध्यता गाउँपालिकालाई छ।
भवनको आवश्यकता टार्न चाँडो कामसक्ने गरी गत वर्ष नै निर्माण थाल्ने तयारी भएकोमा कोभिडका कारण असारमा मात्र गाउँपालिकाले ठेक्का सम्झौता गरेको थियो।
असारमा सम्झौता भएपनि दसैं, तिहार र छठका कारण केही समय ढिला हुन गएको गाउँपालिकाका सहलेखापाल ज्ञानेन्द्र राईले बताए। उनका अनुसार ७ करोड ७८ लाख ७० हजार १ सय ८३ रुपैंयाको प्राविधिक इस्टिमेट गरेर टेण्डर आव्हान गर्दा निर्माण कम्पनीहरुबीचको प्रतिस्पर्धामा ४० प्रतिशत कम मूल्यमा ठेक्का लागेको छ।
जस अनुसार ४ करोड ६१ लाख ८० हजार १ सय ६६ रुपैंँयामा भवन निर्माणको जिम्मा एएम–पिनस कन्स्ट्रक्सन जेवीले लिएको छ। जेवीले आउँदो ०८० असार मसान्तभित्र निर्माण सक्ने गरी सम्झौता गरेर काम थालेको हो।
स्थानीय ४ जना जग्गादाताले निशुल्क दिएको १० रोपनी ७ आना १ दाम जमिनमा भवन बनाउन लागिएको हो। भिरालो जमिन भएकाले खारेर सम्याएर गाउँपालिकाले प्रशासनिक भवन बनाउन लागेको हो।
अत्याधुनिक र सुविधा सम्पन्न हुने भवनका सबै तलामा खानेपानी, महिला तथा पुरुषका लागि अलगअलग शौचालय, सबै तला अपाङ्गतामैत्री हुनेछ। भ्वनमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय कक्ष, कार्यक्रम गर्न सभाकक्ष, विषयगत शाखा प्रमुख, समिति संयोजक कक्षहरु र अन्य कर्मचारी तथा आवास कक्षहरुको व्यवस्था हुनेछ।
प्रकाशित: १३ मंसिर २०७८ १२:३४ सोमबार