coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिरामीले आस्पतालबाट हामफालेर गरे आत्महत्या

विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालबाट हामफालेर एक जना बिरामीले शुक्रबार बिहान आत्महत्या गरेका छन्।

मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले अस्तालको ३ तलामाथिबाट हामफालेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ। गोल्डेन अस्पतालमा उपचार गर्दा लागेको रकम तिर्न नसक्दा उनले आत्महत्या गर्नुपरेको परिवारले आरोप लगाएका छन्। मण्डललाई अस्पताल प्रशासनले ३ दिनदेखि बन्धक बनाएर राखेको उनका आफन्तले बताएका छन्।

हामफालेपछि टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको सोही अस्पतालको इमजेन्सीमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए। छारे रोग र मानसिक समस्या भएपछि उनलाई उपचारका लागि मंसिर ३ गते अस्पताल भर्ना गरिएको थियो। आइसियुमा राखेर अस्पतालले उनको उपचार गरेको थियो। मंसिर ७ गते आइसियुबाट वार्डमा सारेपछि घर लैजाँदा हुन्छ भन्दै डिस्चार्ज दियो।

मृतक मण्डलका आफन्त श्रीराम कामतका अनुसार उपचारमा लागेको पैसा नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले नै बन्धक बनाएर राखेको हो। 'आर्थिक अवस्था कमजोर भएकाले अस्पतालले भने जति पैसा दिन सकेका थिएनौं', कामतलले भने, ‘त्यही तनावमा आएर आत्महत्या गरेको हुनुपर्छ।’

अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार उपचार खर्च तिर्न नसकेका कारण बिरामीलाई बन्धक नबनाइएको बताए। मण्डल डिप्रेसनको औषधि नियमित सेवन गरिरहेका बिरामी हुन्। अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेर भनिरहेको भए पनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौं भनेर बिरामीलाई राखेका थिए।

‘मानसिक समस्याका कारण उनले देखाउने अस्वभाविक व्यवहारले गर्दा अन्य बिरामीलाई असर भइरहेको थियो,’ मेहताले भने, ‘त्यसकारण घर चाँडो लागन भनेका थियौं। समयमा परिवारले नलगेका कारण घटना भई दिइयो।’ उपचारमा गर्दा जम्मा ३८ हजार रूपैयाँ खर्च भएको थियो। मण्डलका परिवारले उपचारमा लागेको खर्चमध्ये १७ हजार तिरेको र २१ हजार रूपैयाँ तिर्न बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ।

उपचाररत मण्डलले शुक्रबार बिहान एक्कासी अस्पतालको ३ तलाबाट हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

प्रकाशित: १० मंसिर २०७८ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App