coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडकमै दैनिक भेटिन्छन् चितुवा

बेनी नगरपालिका–२,अर्जमका तिलाराम थापा बेनी–बागलुङ सडकखण्डमा साँझपख सदरमुकाम बेनीबाट घर फर्किंदै गर्दा धेरैपटक चितुवासँग जम्काभेट भएको छ। सडकखण्डको छेउमा, नजिकै जंगलबाट हेरिरहेको अवस्था र एक्कासी अगाडिबाट बाटो काट्दै गरेको अवस्थामा थापाले जस्तै जामुनाखर्क माविका विज्ञान शिक्षक रमेश बोगटीले समेत धेरैपटक चितुवासँग आँखा जुधाएका छन्। 

सडकखण्डमा एकाविहानै र साँझपख पैदल र दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्ने क्रममा त्रसित हुनुपरेको भानु मावि रत्नेचौरका शिक्षक थापाले बताए। ‘बाटैभरी चितुवा छ,‘साँझपख एक्लै यात्रा नगरेकै राम्रो हुन्छ’, शिक्षक थापाले भने। सडकखण्डमै देखिएको अवस्थामा मोटरसाइकललाई पछ्याउने गरेकाले मानवीय दुर्घटनाको जोखिमले यात्रु त्रसित हुनु परेको छ।

सडकखण्डको म्याग्दी र बागलुङतर्फ हरेक दिन यात्रा गर्ने यात्रुले चितुवा देखिएको बताउने गरेको भानु माविका प्रधानाध्यापक भरत खत्रीले बताए। ‘हो–हल्ला गरेपछि चितुवा भाग्ने गरेको छ, सवारीसाधनको ध्वनि नजिकै भेटिएमा झम्टिने प्रयास गर्छ’, प्रअ खत्रीले भने। उनले पछिल्लो समय चितुवा आक्रमण देखिएकाले यात्रामा सतर्क हुनुपर्ने अवस्था आएको बताए।

त्यस्तै सदरमुकाम बेनीबजारसँगै जोडिएको वराहपाखो सामुदायिक वनमा संरक्षित वन्यजन्तु चरी बाघ र चितुवा सडक आसपासमै भेटिने गरेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ।

चितुवा र चरी बाघको संख्या गणना गर्ने उपकरण नभए पनि बजार र बस्ती आसपासका क्षेत्रमा बाक्लै देखिने गरेकाले संख्या बढेको अनुमान गरिएको कार्यालय प्रमुख चन्द्रमणी सापकोटाले बताए। ‘वन्यजन्तुको बाटोमा सडक बनेको छ,‘ खानेपानी, बासस्थान खल्बलिएको छ’, सापकोटाले भने।

उनले एकै ठाउँमा धेरैपटक चितुवा देखिनुलाई आसपासका क्षेत्रमा रहेको बासस्थानमा जाने क्रममा जम्काभेट भएको मान्न सकिने बताए। उनले म्याग्दीमा सबै प्रकारको वन्यजन्तुको संख्या बढेको र खानाको अभाव, बासस्थानमा जाने क्रममा भएको अवरोधले समेत सडक आसपास र बस्तीमा प्रवेश गर्न सक्ने बताए।

‘झमक्क साँझ पर्ने वित्तिकै सडकमै चितुवा देखिएपनि चितुवालाई सुरक्षित महसुस गरेमा आक्रमण गर्दैन’, कार्यालय प्रमुख सापकोटाले थपे। म्याग्दीमा कालिज फार्म, सर्वसाधारणको पशु गोठ, कुखुराको फर्म लगायतमा चितुवा भेटिनुलाई आहाराको कमी प्रमुख कारण भएको उनले बताए।

चितुवाले एकपटक आक्रमण गरेपछि हिंस्रक हुनसक्ने भन्दै मानिसलाई आक्रमण गरेपछि दोहोर्‍याएर आक्रमणको सम्भावना धेरै हुने वन कार्यालयका प्राविधिकको भनाइ छ। चितुवा नजिकै देखिएपनि आफूलाई खतरा महसुस नभएसम्म आक्रमण नगर्ने भएकाले गन्तव्यतर्फ हिँडेपछि मात्रै यात्रु आफ्नो बाटो लाग्नुपर्ने प्राविधिकको भनाइ छ।

म्याग्दीको बेनी नगरपालिकासहित ६ वटै स्थानीय तहमा वन्यजन्तुले पशुचौपाया खाएको गुनासो विगतमा भन्दा धेरै आउने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०७८ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App