coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ सुरु

‘घर र समाजको ऐक्यवद्धता, लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता’ भन्ने नारासहित नेपालमा ३०औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ सुरु भएको छ।

बिहीबार काठमाडौंको माईतीघरबाट महिलाको निम्ति महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज लगायतका संघ–संस्थाहरुले नेपालमा ३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान २०२१ सुरु गरेका हुन्। अभियानमा सहभागीहरुले महिलाहरुमाथि कुनै पनि  लैङ्गिक विभेद हुन नहुने बताएका छन्।

उनीहरुले महिला आन्दोलनबाट प्राप्त गरेका अधिकारलाई सम्मान गर्दै आगामी दिनमा अझ बढी संघर्ष गर्नुपर्ने तर्फ सचेत गराउनलाई १६ दिने महिला हिंसाविरुद्धको अभियान शुरु गर्नु परेको बताए। समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा घरभित्रै हिंसाको विकराल अवस्था सिर्जना भइरहेको पनि उनीहरुको भनाइ छ। कार्यक्रममा सहभागी बनेकाहरुले महिला हिंसाको मुद्दालाई अहिलेसम्म महिलाको मुद्दाको रुपमा मात्रै हेरिएको भन्दै यसलाई समान मुद्दाको रुपमा हेरिनु पर्ने माग गरेका छन्।

कार्यक्रममा सहभागि विद्यार्थीहरुले कानून शब्दमा बलियो भए पनि कार्यान्वयनमा फितलो भएको भन्दै महिलाहरुको हक सुरक्षित गर्नका लागि कार्यान्वयनमा लैजान सुझाव दिएका छन्। उनीहरुले कानूनको कार्यान्वयन गरेर महिला हक, हीत र रोजगारी सिर्जना गरेपछि मात्रै महिलाहरु समान हुनसक्ने बताए।

समाज परिवर्तन गर्न भनेर लागिरहँदा आफ्नो घर र परिवारमा आफूले महिलाहरुमाथि गरिरहको व्यवहार कस्तो छ भनेर सोच्न र महिलालाई सम्मान गर्दै आफूले पढेका कुराहरु व्यवहारमा लागू गर्न सके समाज परिवर्तन हुन समय नलाग्ने उनीहरुको भनाइ छ।

उनीहरुले महिलाको नेतृत्व स्वीकार गर्न, महिला दोस्रो दर्जाका होइनन्, सबै मिलि गरौँ प्रतिकार, कसैले अब नसहौँ बलात्कार, मेरो आमा महिनावारी नभएको भए म जन्मने थिइनँ, आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७८ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App