७ वैशाख २०८१ शुक्रबार
समाज

बाल क्लबको सक्रियता बढ्दै

दशरथचन्द नगरपालिकामा गठन भएका बाल क्लबका बालबालिका आफ्नो लागि योजना बनाउनेदेखि बालमैत्री अभियान, विपद् पूर्वतयारी र विपद् जोखिमबारे सचेतना फैलाउन थालेका छन्।

बाल क्लब, किशोरी क्लब गठन, पुनःगठन र विस्तार गर्दै बालमैत्री नगरपालिका बनाउन अग्रसर भएका छन्। नगर र वडामा गठित बाल क्लब र किशोरी क्लबमा आबद्ध बालबालिकाले बालबालिकासम्बन्धी व्याप्त समस्या, चुनौतीलाई न्यूनीकरण गर्न समूह छलफलसँगै सम्बद्ध सरोकारवालालाई झक्झकाउने समेत गरेका छन्।

बाल क्लबका सदस्यहरु बालबालिकाको हित हुने खालका योजना आफै बनाएर वडा र नगरमा पेश गर्ने गरेका छन्। बाल क्लब सदस्यहरुको सक्रियताले सचेतना फैलाउन सहज भएको छ।

नगरपालिकाले बालमैत्री अवधारणालाई अवलम्बन गरेपश्चात् बाल क्लबहरूले बालबालिकाको क्षेत्रमा क्रियाशील भई कार्यक्रम सञ्चालन गर्न थालेपछि परिवर्तन आएको छ। बिहान विद्यालय पुग्ने र बेलुकी घर फर्किने बालबालिका पछिल्लो समयमा विद्यालयमा सचेतना फैलाउने, प्राथमिक उपचार सीप आदानप्रदान, खोज तथा उद्धार र बालमैत्री अभियानमा अग्रसर हुन थालेको नगरबाल सञ्जालकी अध्यक्ष मनिसा बोगटीले बताइन्।

बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, सार्वजनिक सवालमा सरोकारवालालाई झक्झक्याउनेदेखि टोल, विद्यालय सरसरफाइलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसबाट बालबालिकाबीच अन्तरक्रिया, ज्ञान, सीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको व्यवहारमा समेत परिर्वतन आएको नगर बाल सञ्जालकी पूर्व अध्यक्ष रेजिना टेलरले बताइन्।

गाउँमा हुने बालविवाह, बालश्रम, बाल दुर्व्यवहारका घटना तथा विद्यालय जानबाट बञ्चित बालबालिकाका सवाल क्लबका बालबालिकाहरुले सल्लाह र परामर्श दिँदै समस्या समाधानका बाटोहरु पहिल्याउने गरेका छन्।

बालबालिकाका सवालमा स्वयम् बालबालिका नै क्रियाशील भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिएको नगरपालिकाका सामाजिक शाखा प्रमुुख बिनोदबहादुर चन्दले बताए। बाल क्लबमार्फत चालिएका अभियानले नगरपालिकामा सकारात्मक प्रभाव परेकोले बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको उनले बताए।

युनिसेफ नेपालको सहयोगमा रेडक्रसबाट सञ्चालित बालकेन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले बाल क्लबका सदस्यहरुलाई तालिम र अन्य सहयोग जुटाएपछि बालबालिकाहरुको सक्रियता बढेको हो। बालबालिकाकाहरुका विभिन्न समस्या र चुनौती छन्, ती समस्याहरु समाधान गर्न सजग र सचेत बनाउन क्षमता विकास, क्लब व्यवस्थापन र प्राथमिक उपचार, विपद् व्यवस्थापन सम्बन्धी तालिम दिइएको कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए।

बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने भएकाले हरेक क्षेत्रमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक भएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए।

बालमैत्री नगरपालिकालाई अधिकांश सूचक पूरा गरेकाले नगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी समेत भइरहेको  नगर उपप्रमुख मीना चन्दले बताइन्।

प्रकाशित: ८ मंसिर २०७८ ११:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App