दुई साताअघि कैलालीको लम्कीचुहाका एक युवाको हत्यामा संलग्न भएको आरोपमा एक जना युवक पक्राउ परेका छन्। लम्कीचुहा वडा नं. १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका १९ वर्षे मदन भन्ने साहिल साही पक्राउ परेका हुन्। साहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरान वडा नं. ४ किरात चोकबाट पक्राउ गरेको हो।
इटहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले कैलाली प्रहरीले साही इटहरीमा बस्दै आएको सूचना दिएपछि उनलाई पिछा गर्ने क्रममा धरानबाट पक्राउ गर्न सफल भएको बताए। ‘कैलालीमा भूपेन्द्र बडुवालको हत्या प्रकरणपछि मदन इटहरीमा गर्लफ्रेन्डसँग आएर बसेको पक्राउ पछि अनुसन्धान गर्दा पत्ता लाग्यो,’ डिएसपी खड्काले भने, ‘अब बाँकी अनुसन्धान त कैलाली प्रहरीले नै गर्छ।’
आइतबार पक्राउ परेर साहीलाई सोमबार कैलाली प्रहरी समक्ष पठाएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। कैलालीमा बडुवालको कात्तिक २३ गते राति एक समूहले टीकापुरमा लगेर हत्या गरेको थियो। हत्या गरेको आरोपमा १६ जना रुद्द किटानी जाहेरी परेकोमा अहिलेसम्म १० जना पक्राउ परि सकेका छन्।
प्रकाशित: ६ मंसिर २०७८ १२:२१ सोमबार