१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कमलानदीमा अद्भुत मेला

एकाबिहानै चिसो पानीमा केही महिला र पुरुष काम्दै, उफ्रिँदै, चिच्याउँदै डुबुल्की मारिरहेका थिए, भने केही बाजागाजासहित हातमा बेतको लौरो र बलिरहेको धुपौरो लिएर आफूले पाएको तन्त्रमन्त्र र ज्ञानगुन सिद्धिको कामना गरिरहेका थिए।

यो अनौठो, अविश्वासिलो र अद्भुत दृश्य थियो, सिरहा–धनुषाको साझा कमलानदीको। कात्तिक पूर्णिमाको बिहान कमला नदीमा बर्सेनी अदभूत मेला लाग्छ। मेलामा तन्त्र, मन्त्र सिद्धि गर्ने धामी, झाँक्री र तान्त्रिकहरूको भीड हुन्छ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि कात्तिक पूर्णिमामा कमला नदीमा अद्भूूत मेलामा पहेँलो धोती÷सारी पहिरिएका नव धामी–झाँक्रीहरु बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी हातले घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै गरेको दृश्यले रोमाञ्चकता फैलाइरहेको थियो।

‘पापकी क्षय, धर्मकी जय...’ भन्नेजस्ता आ–आफ्नो इष्ट देवताहरुको नाम फलाक्दै धामीझाँक्री मादल, झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा कमला नदीमा सपथ ग्रहण गर्न पुगेका थिए। कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको हो।

सूर्योदयसँगै शुक्रबार बिहानै सैयौं नव धामीझाँक्रीहरुले कमला नदीमा डुबुल्की लगाई गुरुहरुसँग शपथ लिन्छन्। बिहीबार रातीबाटै कमला नदी किनारमा भगता (देउता) खेल्नहरुको घुइँचो लागेको थियो।

आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने गरिएको लोक मान्यता छ।

कमला नदीमा आएर सपथ लिएपछि धामीझाँक्रीहरु पोख्त हुने लोक विश्वास छ। भारतहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी लगाय जिल्लाबाट उफ्रिँदै आएका धामीझाँक्रीको लस्कर तन्त्रमन्त्र गरेको दृश्य हेर्न कमला नदीमा निकै ठूलो भीड लाग्ने गर्दछ।

प्रकाशित: ३ मंसिर २०७८ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App