१६ चैत्र २०८० शुक्रबार
समाज

भविष्य सहकारीका सञ्चालक फरार

उपमहानगरद्वारा कारबाही गर्न प्रहरीलाई पत्राचार

प्रहरी कार्यालयमा भेला भएका पीडित वचतकर्ताहरु। तस्बिर: रोहित/नागरिक

धरान ९ भानुचोक सब्जीमण्डीस्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक फरार भएपछि सयौं वचतकर्ताहरुको निक्षेप रकम जोखिममा परेको छ। करिब ४ महिनायता सहकारीका अध्यक्ष इन्द्र लिम्बू र व्यवस्थापक राकेश राई सम्पर्कविहिन भएका छन्। 

उनीहरु सम्पर्कविहिन भएपछि सयौं वचतकर्ताहरुको झण्डै १ करोड रुपैया जोखिममा छ। सहकारीका सञ्चालक हराए पछि आफुहरुको पैसा फिर्ता नहुने चिन्ताले वचतकर्ताहरुलाई सताएको छ। सहकारीमा सामान्य किराना पसल, मजदुरी गर्ने, टेम्पो, सफारी चालकलगायत निम्न आर्थिक अवस्थाका परिवारले पनि जोहो गरेको रकम बचत गरेका छन्। 

‘गरिब, मजदुरी गर्नेहरुले विश्वास गरेर वचत गरेका छौ, यसरी सञ्चालक भाग्दै हिड्ने हो भने कसरी पैसा फिर्ता होला ?’ वचतकर्ता प्रदिप मगरले भने,‘नियमनकारी निकायले कडाई नगरिदिदा जनताको पैसा डुब्ने भयो।’ धरान १७ की सुमित्रा राईले दशैं तिहार चाडमा पैसा निकाल्ने भनेर वचत गरेको तर आफुले फिर्ता नपाएको गुनासो गरिन्। ‘मैले दिनको सय रुपैयाको दरले राखेको थिएँ। दशैंमा चाहिन्छ भनेर अरुबेला पनि निकालिन तर यसपाली दशैंमा पनि पैसा निकाल्न नपाउदा दुःख लागेको छ,’उनले भनिन्। सञ्चालकहरु सम्पर्कविहिन भएपछि वचतकर्ताहरुमात्र होइन, निक्षेप संकलन गर्ने कलेक्टर र कार्यालयका केही कर्मचारीहरु मानसिक तनावमा परेका छन्।

वचतकर्ताहरुले कलेक्टरलाई विश्वास गरेर वचत गरेको भन्दै उनीहरुले नै पैसा फिर्ता दिलाउनुपर्ने दबाब दिइरहेको कारण उनीहरु तनावमा छन्। वचतकर्ताहरु पैसा माग्दै घरमा धाउने, गालीगलौज गर्ने गरेकोले आफुहरु धेरै समस्यामा परेको उनीहरुको पनि गुनासो छ। एक कलेक्टरले भनिन्,‘हामीले पैसा खाएको पनि होइन। संस्थामा जम्मा गरेको हो। 

एक जनाले १५, २० लाख संकलन गरेका छौ, त्यत्रो रकम कहाँबाट तिर्नु ?’ संस्थाका प्रमुख व्यक्ति कार्यालय आउनै छोडेको र केही समय अघिसम्म सम्पर्क गर्दा आएर तिर्छु भन्ने गरेपनि पैसा फिर्ता नगरिदिदा समस्या भएको ती कलेक्टरको भनाई छ। ‘सरसँग फोनमा मात्र कुरा हुन्थ्यो, पैसा पठाइदिन्छु भन्ने तर नपठाएपछि हामीलाई समस्या भयो,’उनले भनिन्।

पीडित वचतकर्ताहरुले सहकारीबारे धरान उपमहानगरपालिकास्थित सहकारी विकास समितिमा निवेदन दिएका थिए। सोही निवेदनको आधारमा छानबिन समिति गठन गरेको तर सञ्चालक र कर्मचारीहरु पनि समितिको सम्पर्कमा नआएको वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माले जानकारी दिए। सहकारीको असहयोगको कारण छानबिन समितिले यथार्थ प्रतिवेदनसमेत तयार गर्न नसकेको उनले बताए। ‘अध्यक्षसँग बारम्बार फोनमा पनि ताकेता भयो, उहाँले आएर मिलाउछु भनेर भन्ने तर नआउने भएपछि आज ईलाका प्रहरी कार्यालयलाई ऐन वमोजिम कारबाही प्रक्रियाा अघि बढाउन पत्र पठाएका छौ,’उनले भने।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले उपमहानगरपालिकाबाट कारबाहीको आग्रहसहित पत्र आएपनि पीडितहरुबाट अझै पनि जाहेरी नआएको बताए। उनले भने,‘केही मान्छे आएका थिए तर पीडितबाट जाहेरी आएको छैन। अब हामी सरकारी वकिलसँग परामर्श गछौं।’

प्रकाशित: २९ कार्तिक २०७८ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App