१६ चैत्र २०८० शुक्रबार
समाज

लागुऔषधको प्रयोग चिन्ताजनक रुपमा बढ्दै

कैलाली र कंचनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ। ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवाहरुको संख्या बढ्दै गएको छ।

सीमावर्ती भारतीय बजारवाट ब्राउन सुगर लगायतका लागु पदार्थ ल्याएर बिक्री गर्ने गिरोह सक्रिय रहेको छ। लागुऔषधको कारोवार गर्ने गिरोहले किशोर किशोरी र यवायुवतीलाई बिक्री वितरण गर्ने गरेको छ। लागु पदार्थको कारोवारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरुको संलग्नता रहेको श्रोतले बताएको छ।

प्रहरीले लागुऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरेपनि कारोवार गर्ने मुख्य गिरोहका व्यक्तिहरुलाई समातेर कारवाही गर्न सकेको छैन। ‘लागुऔषध भेट्टाएको व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने गरेको छ। प्रयोगकर्ता र सानो मात्रा लागुऔषध बोक्नेहरुसँग लागुपदार्थ फेला पर्ने गर्छ तर ठूलो मात्रामा लागुऔषध भारतबाट नेपाल भित्र्याएर कारोवार गराउने मुख्य गिरोहका व्यक्तिहरुसम्म प्रहरी पुग्न सकेको छैन’, प्रहरीका एक अधिकारीले भने।

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले खुला सीमाका कारण भारतबाट लागुऔषध भित्रिने गरेको बताउँछन्। लागुऔषध फेला परेका जोकोहीलाई पनि प्रहरीले समातेर कारवाही गर्ने गरेको बताउँदै कारोवार गर्ने मेन गिरोहका व्यक्ति आफू लागुऔषध नबोक्ने र पक्राउ परेका व्यक्तिले समेत उनीहरुको नाम भन्न नसक्ने गरेकाले समस्या भएको बताउँछन्। ‘लागुऔषधको कारोवार गर्ने स-सना गिरोह पक्राउ पर्ने गर्छन्, मेन गिरोहका व्यक्ति पक्राउ पर्दैनन्’, उनले भने,‘खुला सीमाका कारण भारतमा बसेर तिनीहरुले लागुऔषध नेपाल सप्लाई गर्ने गर्छन्।’

अभिभावक जिम्मेवार हुनुपर्ने, विद्यालयमा सचेतना हुनुपर्ने र सीमामा कडाई गरेर लागुऔषधमा संलग्नलाई कडाकारवाही गरिनुपर्ने उनको भनाई छ। लागु पदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने कलिला किशोर किशोरीदेखि कलेज पढ्ने विद्यार्थीलाई समेत लतमा पारेर बिक्री गर्ने गरेका छन्।

भारतका सीमावर्ती शहरबाट ब्राउन सुगर लगायतका लागु पदार्थ बोकेर ल्याउने र प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन्। ‘प्रहरीले लागु पदार्थ प्रयोग गर्ने, बोक्नेलाई पक्राउ गरेपनि मुख्य कारोवार गर्नेलाई पक्राउ नगरेसम्म चिन्ताजनक रुपले बढीरहेको लागुऔषधको प्रयोग नियन्त्रण हुन नसक्ने देखिन्छ। ‘लागुऔषधको कारोवारको गिरोहलाई पक्राउ नगरेसम्म भयाभह रुपमा बढीरहेको लागुऔषधको प्रयोग कम हुने देखिँदैन’, लागुऔषधको कारोवार सम्बन्धी जानकार एक युवाले भने।

खुल्लम खुला लागु पदार्थको बढ्दो प्रयोगले विद्यालय पढ्नेदेखि कलेजका विद्यार्थी र युवाहरु दुर्व्यसनीमा फसेर बर्वाद हुने गरेका छन्। विद्यालय पढ्ने, कलेज पढ्ने उमेरमा पनि लागु पदार्थको लतमा फसेको स्थानीय बताउँछन्। विद्यार्थी पोशाकमै एकान्त ठाउँमा फसेर लतमा फसेका विद्यार्थी लागु पदार्थ प्रयोग गर्ने गरेका छन्। भुसको आगो जस्तै डरलाग्दो गरि लागुऔषधको समस्याले सबै किशोर किशोरी र युवाहरुमा फैलिरहेको भन्दै समाजका लागि र हाम्रा सन्तानकै लागि ठूलो चिन्ताको बिषय बनेको छ’, नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्,‘देश विकासको आधार मानिने युवा जमात लागुऔषधले बर्वाद भैरहेको छ।’

लागुऔषध प्रयोग गर्ने युवाहरुकै कारण हत्या, लुटपाट, चोरी, डकैती जस्ता अपराधका घटना बढ्दै गएका छन्। लुटपाट, चोरी, डकैती लगायतका प्रायःजसो घटनामा लागु पदार्थ प्रयोग कर्ता संलग्न रहने गरेको प्रहरीको भनाई छ। आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरु जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीले बताएको छ।

अभिभावकले आफ्ना छोराछोरी प्रति निगरानी नराख्नाले लहलहीमा लागेर लागुऔषध दुर्व्यसनको दलदलमा फस्ने गरेका छन्। एकीन तथ्यांक नभएपनि लागुऔषधको दुर्व्यसनको धेरैको अकालमै ज्यान गइसकेको छ। भने कयौको जिवन बर्वाद भएको छ। इन्सेकका प्रदेश संयोजक खडकराज जोशी लागुऔषधको बढ्दो प्रयोग समाज र सबैका लागि ठूलो चुनौती र चिन्ताको बिषय बनिसकेको बताउँछन्। यसलाई नियन्त्रण गर्न गंभिर भएर लाग्नु जरुरी भएको उनको भनाई छ।

विद्यालयमा र परिवारमा जनचेतनाका कार्यक्रम लागु गर्नुपर्ने र अभिभावकले पनि आफ्ना छोराछोरीको उठबसलाई ध्यान दिनुपर्ने उनी बताउँछन्। खुला सीमाबाट व्यापक रुपमा लागु पदार्थ भित्रिरहेकोले प्रहरीले सीमामा निगरानी राख्नु पर्ने उनको सुझाव छ।

प्रकाशित: २७ कार्तिक २०७८ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App