coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अपराधमा युवाहरुकाे संलग्नता बढी

घटना–१

मंगलबार राति ९ बजेतिर कैलालीको टीकापुरमा खुकुरी प्रहार गरि एक जनाको हत्या भएको छ। एक समूहले खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिका–१, का १९ वर्षिय भूपेन्द्र बडुवालको हत्या गरेको हो। टीकापुरस्थित कृषि हाट बजार नजिकै घटेको घटनामा बडुवाललाई सो समूहले लखेट्दै खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले खुकुरी प्रहार गर्ने १८ वर्षिय आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।  

घटना–२  

कात्तिक १२ गते शुक्रबारका दिन नाचगानका क्रममा सामान्य विवाद हुँदा टीकापुर नगरपालिका–८ का १८ वर्षका अनुप साउँदको हत्या भयो। भजनी नगरपालिका–३ ठेकीपुरका १९ वर्षका किरण साउँदले प्रहार गरेको चक्कु लागेर अनुपको ज्यान गएको थियो। प्रहरीले मृतक अनुप र हत्या आरोपी किरण दुवैजनाले मादक पदार्थ सेवन गरेको बताएको थियो। उनीहरुबीच टीकापुर नगरपालिका–८ कालिमाटीका १८ वर्षका प्रवेश टमट्टाको जन्मदिनको अवसरमा भइरहेको नाचगानमा विवाद भएको थियो।

पछिल्लो डेढ हप्ताकै अन्तरालमा कैलालीको टीकापुरमा हत्याका एकै प्रकृतिका दुई घटना घटे। दुवै घटनामा किशोरावस्थाका युवाहरुकै संलग्नता देखियो। घटनाक्रमअनुसार तत्कालीन आवेग थेग्न नसक्दा र व्यक्तिगत रिसिइवीका कारण घटना घटेको देखिन्छ। पछिल्ला केही वर्षयता किशोर–किशोरीहरुमा अभिभावकको निगरानी बढ्न नसक्नु र उनीहरू कूलतमा फस्दा अपराधिक क्रियाकलापमा युवाहरूको संलग्नता बढेको देखिएको हो।  

समाज अव्यवस्थित हुँदा अपराधिक क्रियाकलापमा युवाहरु संलग्न हुने गरेको बताउँदै कैलाली बहुमुखी क्याम्पसका समाज शास्त्रका उप–प्राध्यापक तिलक बमले भने,‘बच्चैदेखि नैतिक शिक्षा र संस्कारमा घर परिवारले शिक्षा दिन नसक्दा नै किशोर–किशोरी सामाजिक अराजगतातर्फ उन्मुख भइरहेका छन्।’ पछिल्लो समयमा हाम्रो सामाजिक परिवेश नै अव्यवस्थित भएका कारण अपराधिक क्रियाकलापमा वृद्धि भइरहेको उनको विश्लेषण छ। 

‘सामाजिक परिवेश नै अव्यवस्थित भयो,’ उनले भने,‘गल्ती गरेमा जोसुकैले सजाय पाउँछ भन्ने भएन, ठूलाबडा तथा राजनीतिक दलसँग आवद्धहरुले पावरका भरमा घटना तोडमोड गर्ने गर्नाले पनि अपराध बढेका हुन्।’ आफ्ना नानी बाबुप्रति परिवारको रेखदेख नहुनु, नानीबाबुले गरेका गल्ती कमजोरीलाई अभिभावकले लुकाउनु र देखासिकीमा गुण्डागर्दीमा लाग्दा पनि पछिल्लो समयमा समाजमा अपराधिक कृयाकलाप मौलाएको उनले बताए। ‘खासगरी अपराधमा किशोरावस्थाका युवाहरु छन्,’ उनले भने,‘हामीले तिनीहरुलाई समयमै संस्कार र नैतिक शिक्षा दिन नसकेमा अपराधतर्फ उन्मूख हुन्छन्।’  

पछिल्लो समयमा किशोर–किशोरी तथा युवाहरु मदिरा र लागू पदार्थको लतका कारण पनि ट्रयाकभन्दा बाहिर जान थालेको विश्लेषण नागरिक समाजका अगुवा हरि रेग्मी गर्छन्। ‘किशोरावस्थामा हामीले उनीहरुलाई सही मार्ग निर्देशन दिन नसक्दा अपराध मौलाउँदो छ,’ उनले भने,‘यो सब लागूऔषध तथा दुव्र्यसनको कारक हो।’ युवाहरुलाई लागूऔषध तथा दुव्र्यसनबाट बचाउन उनीहरुलाई समयमै परामर्श दिन सके गतल बाटोमा जानबाट रोक्न सकिने उनको भनाइ छ। यस्तै उनले भने,‘युवाहरु बेरोजगार भएपछि आफू अनुकूल उपलब्धि प्राप्त नहुँदा डिप्रेसनमा गई अपराधतर्फ उन्मुख हुने गरेका छन्।’  

परिवारको रेखदेख नहुनु र अभिभावकले नै छोराछोरीको गल्ती कमजोरी छुपाउँदा पनि युवाहरुमा गलत गर्दा पनि केही हुँदैन भन्ने मनोवृत्ति बढ्दा समाजमा अपराध मौलाइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। प्रहरीमा आएका घटनामा अधिकांश केशहरु कूलत र कूसंगतका कारण भएको देखिएको बताउँदै उनले भने,‘किशोर किशोरीहरुले घटाएका घटनामा अधिकांश घटना कूलत र कूसंगतकै कारण भएको देखिएका छन्।’ 

अब अभिभावकले पनि आफ्ना नानी बाबुको चियोचर्चो गर्दै उनको आनीबानी र संगत हेर्नु पर्ने देखिएको उनले बताए। ‘अपराधका घटनामा अघिकांश युवाहरु नै देखएका छन्,’ उनले भने,‘त्यसैले पनि आफ्ना नानीबाबु के गरिरहेका छन् र उनीहरुको आनीबानी तथा संगत हेर्नुपर्ने हुन्छ।’ पछिल्लो समय युवा पुस्ता लागू पदार्थ दुव्र्यसनमा फँस्दै गएका कारण समाजमा अपराधिक घटना बढेको घटनाहरुले देखाएको उनको धारणा छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App