५ वैशाख २०८१ बुधबार
समाज

मानव मूत्रः उत्पादन बढाउने सुत्र

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका एक स्थानीयले घरमा पिसाप संकलनका लागि राखेको ड्रम। तस्बिरः हरिकृष्ण/नागरिक

खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा खाद्यान्न लगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ।  

अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्न लगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग गरी खेती गर्न सुरुवात गरेका हुन्। अर्मनमा विशेष गरी सुन्तला खेतीमा मानवमूत्रको प्रयोग गर्ने क्रम बढ्दै गएको छ।  गाउँबाट गएको वर्ष करिब ५० लाख रुपैयाँको सुन्तला बिक्री गरिएको र यस वर्ष उत्पादन राम्रो भएकाले करिब ८० लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य रहेको अर्मन सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष धनबहादुर रोकाले बताए।  

पोखराबाट गाउँमै आएका व्यवसायीले विभिन्न समयमा गरी सुन्तला खरिद गरेका हुन्।अर्मनमा करिब ५० घरधुरी कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन्। उनले आफ्नो सुन्तलाबारीबाट गएको वर्ष दुईलाख २७ हजार रुपैयाँको सुन्तला बिक्री भएको र अहिले गएको वर्षको भन्दा राम्रो फलेकाले करिब तीनलाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको बताए।  

अध्यक्ष रोकाका अनुसार गएको वर्ष आरुखोलाका धनबहादुर छन्त्यालले एकलाख ५७ हजार रुपैयाँ, अर्मनका प्रेमबहादुर रोकाले एकलाख ४३ हजार रुपैयाँ, मठबोटका रविलाल छन्त्यालले एकलाख ७८ हजार, टेकबहादुर श्रीशले एक लाख २२ हजार र मठबोटकै दिलबहादुर छन्त्यालले एक लाख एक हजार रुपैयाँको सुन्तला बिक्री गरेका थिए।

यसवर्ष सबै किसानले गएको वर्षको भन्दा राम्रो आम्दानी गर्ने उनीहरुले बताएका छन्। सुन्तला बगैचामा मलको रुपमा मानवमूत्रको प्रयोग गरेपछि गएको वर्षको भन्दा यस वर्ष दोब्बरले सुन्तला उत्पादन वृद्धि भएको मंगला गाउँ कार्यपालिका सदस्यसमेत रहेका खोलखर्कका सुन्तला उत्पादक कृषक रत्नबहादुर विश्वकर्माले बताए। सुन्तला उत्पादन राम्रो भएपछि बर्षेनी यहाँका कृषकले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती बिस्तार गर्न थालेको उनले बताए।  

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्ला मै पहिलो पटक अर्मनमा तीन वर्ष अघि २०७५ सालदेखि मानवमूत्र संकलन गर्न थालिएको थियो । अहिले यो अभियान उपलब्धिमूलक बनेको छ । विद्यालय र सार्वजनिक स्थानमा मानवमुत्र संकलनका लागि प्लाष्टिकको ग्यालिन (जर्किन) राखेको छ। शौचालयमा मूत्र विर्सजन गर्नुका साटो स्थानिय र बटुवाहरुले समेत जर्किन (ग्यालिन)मा गर्ने गरेका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। एकलिटर पिसावमा ३ लिटर पानी मिसाएर बोटविरुवा र बालीमा राख्न सकिने उनले बताए।  

पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको रोकाले बताए। ‘अर्मनको शिशुकल्याण माविमा संकलन गरिएको मानवमूत्र प्रतिलिटर २५ रुपैयाँमा खरिद गरी सुन्तला खेतीमा प्रयोग गर्यौ, यसले उत्पादन राम्रो दियो सबै कृषक खुसी छौं,’ गाउँपालिका अध्यक्ष रोकाले भने । यसका साथै प्रत्येक घरघरमा पनि मानवमूत्र संकलन गरिँदै आइएको छ ।  

सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि यहाँका कृषक थप उत्साहित बनेका छन् । समुद्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाई मंगला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरी विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ।  

मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले पशुपालन गर्ने क्रम बिस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको बताए। ‘मानव मूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ,’ बानियाँले भने । प्राविधिक बानियाँका अनुसार पिसाबमा क्याल्सियम, फस्फोरस हुने भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ। एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ ।  

घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मूत्र संकलन गर्दा राम्रो हुने भएपछि पालिकाले समेत यो अभियानलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए। ‘कोरोनाको कारण विस्तारमा समस्या भएको थियो, अब सबै बस्तीलाई यो प्रविधिका बारेमा जानकारी दिन्छौ,’ ढुंगानाले भने ।

पहिलो चरणमा सामुदायिक विद्यालय, दोस्रो सामुदायको चहलपहल हुने स्थान र तेस्रोमा हरेक स्थानीयको घरदैलोमै संकलन केन्द्र बनाउने पालिकाको योजना रहेको छ। हरेक वडाभित्र मानवमूत्रको प्रयोगमा सघाउने गरी समिति बनाउने तथा समय समयमा प्राविधिक तालिम समेत प्रदान गर्ने गाउँपालिकाले जनाएको छ। म्याग्दीका अन्य स्थानीय तहले यस अभियानलाई भने खासै महत्व दिएका छैनन्।  

प्रकाशित: २३ कार्तिक २०७८ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App