coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

९४ वर्षकै ठूलो बाढी : जुम्ली किसान भोकमरी हुने चिन्तामा

यही कार्तिक १ देखि ३ गते सम्म परेको अविरल वर्षासँगै आएको बाढीले जुम्लाका ८ सय किसान नराम्ररी प्रभावित बनेका छन्। किसानको स्याउ बगैचा, ओखर नर्सरी, स्याउ नर्सरी, मकै, सिमी र कोदो लगायतको बालीमा क्षति पुगेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले तयार पारेको प्रभावितहरुको तथ्यांक अनुसार जिल्लाका ८ सय नागरिक बाढीबाट प्रभावित बनेका छन्।  

हिमा नदीमा आएको बाढीले एकजना बेपत्ता भएका छन्। हिमा गाउँपालिका ६ की रत्ना शाहीको शव अहिलेसम्म भेटिएको छैन। बाढीले २३ वटा सिंचाइका कुला भत्काएको छ। १० वटा विद्युतमा बाढीले क्षति पुर्याएको छ। अधिकांश विद्युतका नहर भत्काएको हो। जसका कारण बाढी प्रभावित नागरिक दुई सातादेखि अन्धकारमा बस्न बाध्य छन्।

बाढीबाट जोगिन खोला किनारामा बनाइएका १० ठाउँमा तटबन्ध बगेका छन्। १२ वटा विद्यालयमा क्षति पुगेको छ। जसका कारण अहिलेसम्म विद्यालय राम्ररी खुल्न सकेका छैनन्।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले ४३ जनाको निजी आवासमा क्षति पुगेको बताइन्। आवास क्षति बेहोरेका अधिकांश नागरिक अर्काको घर मागेर बसेका छन्।

तिलामा १३ हेक्टर जमिन कटान गरेको छ। जसले १ सय ४१ मेट्रिक टन मार्सीधानमा क्षति पुगेको छ। तातोपानीमा ८ हेक्टर जमिन कटान भएकोमा २ सय २९ मेट्रिकटन धान नष्ट भएको हो। जिल्लाभर १ हजार ४ सय ५० हेक्टरमा लगाइएको  ७ सय ८ मेट्रिकटन धानबाली भिजेर नष्ट भएको छ।  

सिँजा गाउँपालिका १ देखि ६ वडासम्म ७ सय ६९ मेट्रिकटन मार्सीधानमा क्षति भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। मकैबाली ५ सय ८२ मेट्रिकटन र २ सय ९० मेट्रिकटन सिमीबालीमा क्षति पुर्याएको हो।  

पशु चौपायातर्फ तिला गाउँपालिकामा १ सय १७ भेडाबाख्रा, तातोपानीमा ३५ भेडाबाख्रा बाढीले बगाएको तथ्यांक संकलन भएको छ। यसैगरी साना उद्योग तथा परम्परागत पानी घट्ट तिला गाउँपालिकामा ३३ वटा, तातोपानी गाउँपालिकामा ३९ वटा बगेका छन्। अहिले यहाँका स्थानीयको कुटानी पिसानी ठप्प भएको छ। बाढीले स्याउ बगैचा र नर्सरीमा पनि ठूलो क्षति गरेको छ। तिलामा १२ वटा स्याउ बगैँचा र नर्सरी बगाएको छ। तातोपानीमा ९३ जनाको स्याउ बगैँचा र नर्सरीमा क्षति पुगेको जनाइएको छ।  

जुम्लाको ३ लाख ६७ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनाली नष्ट भएको हो। तिलामा ७, तातोपानीमा १० र सिँजा गाउँपालिकामा ३ काठेपुल बगेका छन्। काठेपुल बाढीले बगाउँदा आवतजावतमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी प्रसाइले बताइन्।  

जुम्लामा बाढीले क्षति पुगेको विवरण कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठलाई बुझाइएको हो। उनले भनिन्, ‘क्षतिको विवरण बुझाएर राहतको प्याकेज निर्माण गर्न आग्रह गरिएको छ।’

क्षतिको विवरण संकलन गर्न कृषि प्राविधिक, जलस्रोत तथा उर्जा विकास कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र सम्बन्धित कृषि र पशु शाखाका कर्मचारी पठाइको थियो। प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्, ‘प्रभावित क्षेत्रमा परिचालन गरेर विवरण संकलन गरिएको छ। यो विवरण हेर्दा बाढीले कृषि क्षेत्रमा नराम्ररी क्षति पुगेको छ।’  

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठ पनि बाढी प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरेर फर्किर्एका छन्। जुम्लामा यो वर्ष बाढीले निकै ठूलो क्षति गरेको छ। किसान प्रत्यक्ष मारमा परेका छन्। मन्त्रिपरिषद् बैठक र प्रदेश विपद् परिषद्मा प्राथमिकताका साथ बिषयको उठान गर्नेछु।’  

बुढापाकाका अनुसार १९८४ सालमा यति ठूलो बाढी आएको थियो। त्यो बाढीले पनि जुम्लाबासीको ठूलो धनमाल नष्ट गरेको थियो। तिला ४ का चक्रबहादुर शाहीले भने, ‘यो वर्ष कहिल्यै नदेखेको र नसुनेको बाढी आयो।  जुम्लाबासीको बास उडायो। गाँस बगायो।’ बाढीले खेतबारी बगाएपछि जुम्ली किसान भोकमरी हुने चिन्तामा छन्।

प्रकाशित: १३ कार्तिक २०७८ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App