१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीमा फेला परे नेपालकै होचा व्यक्ति, लिए नागरिकता

जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट नागरिकता पाएपछि खुसी हुदै नेपालकै होचा व्यक्ति डोरबहादुर। तस्बिर: अनिल /नागरिक

गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका नरबहादुर खपाङगी एक जना बच्चा जस्तै देखिने व्यक्ति बोकेर सिन्धुली जिल्ला प्रशासन कार्यालय पुगे। प्रशासनमा गएर उनले अपाङ्ग व्यक्तिलाई पहिलो प्राथमिकता दिएर नागरिकता दिनुपर्ने बताए। अअपाङ्ग भनेपछि नागरिकता फाटका कर्मचारीले उनलाई बच्चा बोकेर आउन सक्ने मान्छे कसरी अपाङ्ग हुन्छ भन्दै उल्टै प्रश्न गरे। तर नरबहादुरले बोकेका तिनै बच्चाजस्तै व्यक्तिको नागरिकता बनाउन भनेपछि प्रशासनका कर्मचारी छक्क परे।  

 सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–४ निवासी १७ वर्षीय डोरबहादुर खपाङी नेपालकै  सबैभन्दा होचो व्यक्ति फेला परेका छन्। बुधबार तिनै होचा डोरबहादुरलाई प्रमुख जिल्ला अधिकारीले उनलाई नागरिकता उपलब्ध गराएका हुन्। जिल्ला प्रशासन कार्यालयका अनुसार डोरबहादुरलाई नागरिकता प्रमाणपत्र दिने क्रममा उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी पाईएपछि नेपालकै होचा र विश्वकै दोस्रो होचा व्यक्ति भएको अनुमान गरिएको छ। 

डोरबहादुरलाई जिल्ला प्रशासन कार्यालयले बंशजको आधारमा नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। नागरिकता बनाउनका लागि डोरबहादुरलाई दाजु नरबहादुरले पाँच दिन अगाडीनै जिल्ला प्रशासन ल्याएका थिए तर उमेर जाँच गर्ने आधार नभएकाले उमेर एकिन गरि पठाइदिनु भनी चिकित्सककहाँ प्रशासनले पठाएको थियो। 

अस्पतालले दाँत, हड्डी र जनरल फिजिसियन बिषय विज्ञबाट तीन दिन लगाएर स्वास्थ्य परीक्षण गरी उमेर १५ देखि १७ वर्षकोबीचको भएको प्रमाणित गरेको थियो भने उचाई ७१ सेन्टिमिटर र तौल १३ केजी भएको प्रतिवेदन दिएपछि डोरबहादुरलाई नागरिकता दिन योग्य देखिएको र नागरिकता दिएको प्रशासनले जनाएको छ। अस्पतालले दिएकै प्रतिवेदनको आधारमा डोरबहादुर अहिले विश्वकै होचो व्यक्तिको रुपमा रहेको अनुमान समेत लगाइएको छ।  

जिल्ला प्रशासन कार्यालयका नागरिकता फाटका नासु रविन्द्र गौतमका अनुसार दाजुको सनाखत, वडा अध्यक्षको सिफारिस र उमेर खुलाईएको मेडिकल रिपोर्टका आधारमा डोरबहादुरलाई नागरिकता प्रमाणपत्र जारि गरिएको हो। उनको नागरिकता प्रमाणपत्रमा जन्म मिति २०६१ साल कार्तिक २९ गते उल्लेख गरिएको छ। बाबु टक्करबहादुर खपाङगी र आमा रणमाया खपाङगी मगरका कान्छा छोरा डोरबहादुर सामान्य बोलचाल र हिड्डुल गर्ने सक्ने छन्। 

गाँउकै प्राथमिक विद्यालयमा उनि कक्षा १ मा अध्यनरत समेत रहेको उनका दाजु नरबहादुर बताउछन्। विश्वकै जीवित होचो व्यक्तिको रुपमा अहिले कोलम्बियाका एडवार्ड निनो हेर्नन्डोजको रेकर्डमा देखिने नागरिकता फाटका नासु गौतमको भनाई छ। उनका अनुसार ति होचा व्यक्तिको ७० दशमलब २१ सेन्टिमिटर रहेको छ भने डोरबहादुरको ७१ सेन्टिमिटर उचाई रहेको छ। 

गिनिज बुकका लागि सूचना सङकलन गर्ने काम गर्दै आएका कन्सल्ट्यान्ट थानेश्वर गुरागाइले ७१ सेन्टिमिटर प्रमाणित भएमा विश्वकै होचा व्यक्ति हुन सक्ने अनुमान गरे। हामीले उहाँलाई सम्पर्क गरिहेका छौ, उनले नागरिकसँग भने ‘डोरबहादुरको उचाई कसरी नापिएको हो, सुताएर हो की उभ्याएर’  हो यस बिषयमा थप बुझ्नु पर्ने हुन्छ उचाईको नाप महत्वपुर्ण हुन्छ। 

उनलाई काठमाडाैं ल्याउन डोरबहादुरका आफन्तलाई अनुरोध गरिएको गुरागाई बताउँछन् । स्वास्थ्य परीक्षणका क्रममा डोरबहादुरको स्वास्थ्य अवस्था ठिक रहेको प्रतिवेदन चिकित्सकले दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उनको मानसिक अवस्था स्वास्थ र सक्रिय रहेको चिकित्सकले दिएको प्रतिवेदनमा उल्लेख रहेको प्रशासनले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०७८ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App