९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

'जातिय विभेद चाहिँदैन, मान्छे मार्न पाइँदैन'

भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन। तस्बिर: बिजय राई/नागरिक

चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको छ। जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति संगठनको संयुक्त आयोजनामा भीमबहादुर विश्वकर्माको न्यायको लागि माइतिघरमा बिहीवार खबरदारी र्‍याली गरिएको हो।

र्‍यालीमा जसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका जसपाका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। चितवनमा असोज २८ गते मन्दिरमा पुजा गर्न जाँदा ५८ वर्षीय बिश्वकर्मालाई स्थानीयले कुटपीट गर्दा मृत्यु भएको थियो।

र्‍यालीलाई सम्बोधन गर्दै जसपाकी नेता कमला हेमचुरीले भीमबहादुर विश्वकर्माको हत्या हिन्दु आतंकवादीहरुले गरेको बताए। उनले नेपालमा कुनैपनि प्रकारको आतंकवाद सह्य नहुने भन्दै यसप्रकारका आतंककारीहरुलाई राज्यले संरक्षण गरेको आरोप लगाए। बिश्वकर्माको हत्यारालाई कारबाहीमुक्त गर्न लागिएका कारण खबरदारी आवश्यक रहेको उनले बताए।

खबरदारी सभामा बोल्दै जसपाका नेता तथा अभियन्ताहरुले संविधानमा लेखिएको अधिकारका कुरा सुनिश्चित हुनुपर्ने र दलित समुदायले न्याय पाउनुपर्ने बताए। भीमबहादुर बिश्वकर्मालाई सांस्कृति सहिद घोषणा गर्न माग पनि गरिएको छ।

कार्यक्रममा सामाजिक विभेद अन्त्य गर, भीम विश्वकर्मालाई न्याय दे, मानव अधिकारको ग्यारेन्टी गर, जातिय छुवाछुतको अन्त्य गर, जातिय विभेद चाहिँदैन, मान्छे मार्न पाइँदैन, सामाजिक न्याय कायम गर, उत्पीडित समुदाय एक हौँ, भीम विश्वकर्माका हत्यारालाई कारबाही गर लगायतको नाराबाजी समेत भएको थियो।

प्रकाशित: ११ कार्तिक २०७८ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App