७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरमा मेयरकै सेटिङमा प्लटिङ

भक्तपुरका सञ्चारकर्मीहरुले भक्तपुरमा जनप्रतिनीधिहरुकै मिलेमतोमा जग्गा प्लटिङ भइरहेको बताएका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जलवायु सुशासन र सदाचार(सीजीआइ) बारे पत्रकारसँग गरेको अन्तरक्रियामा सहभागीहरुले भक्तपुरमा जथाभावी प्लटिङ हुनुमा जनप्रतिनीधिहरु नै जिम्मेवार रहेको बताएका हुन्।

अन्तरक्रियामा सहभागी अधिकांश सञ्चारकर्मीहरुले भक्तपुरमा डरलाग्दो तरिकाले जग्गा प्लटिङ भइरहेको र जग्गा प्लटिङ व्यवसायको रुपमा अघि बढ्दा त्यसको सीधा असर वातावरणमा परेको बताए।

‘भक्तपुर, पहिलाको जस्तो रहेन, अहिले भक्तपुरका हरिया डाँडाहरुमा डोजर लगाएर सम्याउँदै प्लटिङ गर्ने गरेका छन्’, कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भने, ‘त्यसले भक्तपुर कुरुप मात्र नभएर विभिन्न खाले प्राकृतिक विपतिको सिकारमा समेत पर्ने सम्भावनामा परेको छ।’

कार्यक्रममा उनले मात्र नभएर विभिन्न सञ्चारमाध्यममा संलग्न सञ्चारकर्मीहरुले जग्गा प्लटिङ भइरहेको बारेमा जनप्रतिनीधिहरुलाई जानकारी दिँदा, त्यसलाई वास्ता नगर्ने गरेको पनि अनुभव बाँडे।

‘आफ्नो जग्गा खार्न भनी सिफारिश ल्याएर माटो सम्याउने र माटो तस्करी समेत गर्ने गरेको छ, त्यो कामबापतको कमिशन जनप्रतिनीधिलाई समेत जाने गरेको कारण जग्गा प्लटिङबारे तैं चुप, मै चुपको अवस्था छ’ पत्रकार रामगोपाल तमखुले भने।

कार्यक्रममा पत्रकारहरुले जग्गा प्लटिङका समाचारहरु निकै सचेतनापूर्वक लेख्नुपर्ने अवस्था समेत आएको बताए।उनीहरुले जग्गा प्लटिङकै कारण सामान्य झरीमा पनि विभिन्न ठाउँमा पहिरो आउने, खोला थुनिने, किसानका बाली नाश हुने समस्या वर्षेनी बढिरहेको बताए।  

स्थानीय तहमा जनप्रतिनीधिहरु चुनिएर आएपछि केही नगरपालिकाहरुले जग्गा प्लटिङबारे कार्यविधि बनाए पनि त्यसलाई पालना नगर्दा अझ समस्या भएको पत्रकारहरुको भनाइ छ। ‘जग्गा प्लटिङ भइरहेको छ, कहाँबाट कसले स्वीकृति दियो भनी सोधीखोजी गर्दा वडाले नगरपालिकालाई, नगरपालिकाले काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई, प्राधिकरणले फेरि मेयरलाई, वडाध्यक्षलाई देखाउने गरेको छ’ अन्तरक्रियामा पत्रकार अनिल फोँजूले भने, ‘काले, काले मिलेर खाउँ भाले भन्दै उनीहरु नीतिगत भ्रष्टाचार गरी कुम्ल्याउने धन्दामा लागेका छन्।’

कार्यक्रममा उनीहरुले भक्तपुरमा बढिरहेको अनियमित जग्गा प्लटिङ नियन्त्रणका लागि जनप्रतिनीधिहरुले नै कडाइ गर्नुपर्नेमा जनप्रतिनीधिहरु नै जग्गा किनबेच गर्नेहरुको प्रभाव र दबाबमा पर्दा समस्या भइरहेको बताए।

अहिले भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै वडाहरुमा जग्गा प्लटिङ गर्नेहरुको संख्या बढिरहेको छ। ‘जनप्रतिनीधिको घरअघि नै वडा कार्यालयअघि नै जग्गा प्लटिङ भइरहँदा पनि उनीहरु मतलब गर्दैनन्, जथाभावी जग्गा प्लटिङ गर्दा कति बाटो जीर्ण भएका छन्, खानेपानीका मुहानहरु सुकेका छन्, थुप्रै समस्याहरु देखिएका छन्, तर त्यसको मतलब खासै गर्दैनन्’, पत्रकार रेणु त्वानाबासुले बताइन्।

अन्तरक्रियामा आयोजक ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले भक्तपुरमा पनि विभिन्न किसिमले जलवायु परिवर्तनको असर देखिएकाले सो विषयमा गम्भीर हुनुपर्ने अवस्था आएको बताइन्। उनले भक्तपुरको चाँगुनारायण नगरपालिकासँग सम्झौता गरी अघि बढेको जानकारी दिइन्।

उनले आफूहरुले पनि सम्बन्धित निकायलाई घच्घच्याउने काम मात्र गर्ने बताउँदै जलवायु परिवर्तनलाई पनि प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताइन्। कार्यक्रममा प्रोजेक्ट कन्सल्ट्यान्ट प्रकृतिश्री अधिकारीले जलवायु परिवर्तनबारे जनचेतनाको अभाव हुनु नै समस्याको कारक रहेकोले स्थानीय तहले सोबारेमा ख्याल गर्नुपर्ने बताइन्।

प्रकाशित: ९ कार्तिक २०७८ १५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App