८ वैशाख २०८१ शनिबार
समाज

पहिरोबाट मृत्यु भएका परिवारलाई राहत

फाइल तस्बिर

शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहत वितरण गरेको छ। गाउँपालिका ६ बसेडीमा कार्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई नगद राहत वितरण गरेको अध्यक्ष कर्णसिंह साउँदले बताए।

भानु पार्की, देवन पार्की र पवित्रा पार्कीको परिवारलाई ५० हजारका दरले नगद १ लाख ५० हजार रुपैयाँको चेक राहत स्वरुप उपलब्ध गराइएको हो। गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरे बमोजिम राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

पीडित परिवारको घरम पुगेर राहत वितरण गरिएको हो। पीडित परिवारलाई पालिकाका तर्फबाट खाद्यान्न सामग्री वितरण गरिएको थियो। यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले पनि पहिरोबाट मृत्यु भएका परिवारलाई राहत वितरण गरेको थियो। 

निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती नेतृत्वको टोली पीडितको घरमै पुगेर १ लाख २० हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराएको थियो। संघीय सरकारले दिने राहत रकमबाट उनीहरुलाई किरिया खर्च उपलब्ध गराइएको हो।

पहिरोले घर लगेपछि अहिले पीडित परिवारको आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। उनीहरुको उचित बसोबासका लागि गाउँपालिकाले पहल गर्ने अध्यक्ष साउँदले बताए। बेमौसमी बर्षाले जिल्लाका विभिन्न ठाउँमा धनजनको क्षति भएको छ। 

४ जनाको मृत्यु, २ जना घाइते र एक जना बेपत्ता भएका छन् भने ९ घर पूर्ण क्षति र १३ घरमा आशिंक क्षति ३१ पशुचौपायाको मृत्यु भएको प्रहरीकोे तथ्यांकले देखाएको छ। यस्तै २ हजार ७ सय हेक्टर धानबाली र अन्य अन्नबाली नष्ट गरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७८ ०५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App