८ वैशाख २०८१ शनिबार
समाज

विराटनगरमा पुनः अर्को मोबाइल पसल चोरी

विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा दिनहुँ चोरीका घटना बढ्न थालेका छन्। शनिबार राति विराटनगर–७ स्थित शनि मन्दिर चोक (मन्दिर अगाडि)मा रहेको एक मोबाइल पसल चोरी भएको छ।

विराटनगरको मुख्य बजार क्षेत्रभित्रै पर्ने शनि मन्दिर चोक र महेन्द्र चोकमा २४ घण्टाको फरकमा मोबाइलका दुई पसल चोरी भएका छन्। दुवै चोकमा प्रहरीको डिउटी हुने भए पनि पसल चोरी हुँदा सर्वसाधरण र व्यापारीहरु असुरक्षित महसुस भएको बताएका छन्। रामकुमार राईले सञ्चालन गरेको कोमल मोबाइल ट्रेडर्समा शनिबार राति चोरी भएको प्रहरीले जनाएको छ।  

राईका अनुसार शनिबार राति पसल बन्द गरेर घर गएको र आइतबार बिहान छेउका अन्य पसलले पसल चोरी भएको खबर गरे। ‘बिहान पसल गएर हेर्दा चाबी फोडेरभित्र पसेर मोबाइल र नगद चोरी भए छ,’ राईले भने, ‘पसलमा रहेको ५० भन्दा बढी ब्राण्डेड मोबाइल चोरी भएको छ। १५ हजारदेखि ५० हजारसम्म दरका मोबाइल र गल्लामा रहेको नगद साढे ८ हजार रुपैयाँ चोरी भयो।’  

मोबाइल पसलसँगै नजिकै रहेको किराना पसल पनि त्यही रात चोरी भयो। शिवु सरकारले सञ्चालन गरेको किराना पसलमा १५ हजार रुपैयाँ र अन्य किरानाका सामान चोरी भएको, सरकारले बताए। यहाँ चोरी हुनु एक दिनअघि विराटनगर–९ हिमालय रोड (महेन्द्र चोक)को सनराइज इन्टरप्राइजेज नामको मोबाइल पसल चोरी भएको थियो।

सटरको ताला फुटाएर शुक्रबार राति पसलमा चोरी भएको प्रहरीले जनाएको छ। पसलबाट ३ लाख बढीका स्मार्ट फोन चोरी भएको थियो। पसल सञ्चालक मधु राईका अनुसार नयाँ र ग्राहकले बनाउन दिएका मोबाइल २८ वटाभन्दा बढी चारी भएको हो। यो पसल २ वर्ष पहिले पनि चोरी भएको थियो। त्यस समयमा ५० वटाभन्दा बढी स्मार्ट फोन चोरी भयो। प्रहरी चोरी भएको मोबाइल खरिद गर्ने २ लाई सहित ३ वटा सेट बरामद गरेको थियो।  

वडा प्रहरी कार्यालय (क) विराटनगरका प्रमुख डिएसपी दीपक कार्कीले चोरीलगायत अन्य आपराधिक घटना हुन नदिन हामी प्रहरीहरुले आफ्नो काम सक्रियताका साथ गरेका छौं। ‘प्रहरीसँग भएको साधनस्रोतले भ्याएसम्म काम गरिएको छ,’ डिएसपी कार्कीले भने, ‘घटना हुँदा प्रहरीलाई थप चुनौती थपिँदै जान्छ। प्रहरीले गर्नुपर्ने काम गरिरहेको छ। नागरिक पनि स्वयम् सचेत र सजक हुन जरुरी छ।’

प्रकाशित: ८ कार्तिक २०७८ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App