७ वैशाख २०८१ शुक्रबार
समाज

राष्ट्रिय परिचयपत्रका लागि १८ हजार विवरण सङ्कलन

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन्। जिल्लाको चाँगुनारायण नगरपालिकाका–९ वटा वडा र सूर्यविनायक नगरपालिका–१ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन्।

यसैबीच सूर्यविनायक नगरपालिका–६ देखि १० सम्म सोमबरदेखि अभियान सुरु हुने भएको छ। अभियान अन्तर्गत प्रत्येक वडामा ३ वा ४ केन्द्र रहनेछन्। 

एक केन्द्रमा एक कम्युटर अपरेटर,दुई छानवीन गर्ने अधिकारी र एक जना सहयोगी रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।

उनले छिट्टै भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा पनि छिट्टै अभियान सञ्चालन गरिने जानकारी दिए। 'भक्तपुर नगरपालिकामा एक दुई दिनभित्रै रुजु अधिकारीलाई अभिमुखीकरण गरेर कार्यस्थल खटाइ अभियान सुरु गर्ने तयारी भइरहेको छ। त्यसपछि मध्यपुर थिमिमा अभियान सुरु गर्छौं,' उनले भने।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका व्यक्तिगत र जैविक विवरण प्रविष्ट हुने भएकाले यो बहुउपयोगी भएको र भविष्यमा अनिर्वाय जस्तै हुने भएकाले सबै नागरिकले विवरण भरेर बुझाउन प्रजिअ शर्माले आह्वान गरे।

सूर्यविनायक नगरपालिकामा आइतबार आयोजित रुजु अधिकारीलाई अभिमुखीकरण कार्यक्रममा प्रजिअ शर्माले भने,'राष्ट्रिय परिचयपत्रले भविष्यमा राहदानी, नागरिकतालगायतको कार्य गर्ने भएकाले यसको महत्व धेरै रहेको छ र यो बहुउपयोगी रहेको छ। 

त्यसैले सबै नागरिकले अनिवार्य विवरण बुझाउनुपर्छ।'अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले राष्ट्रिय परिचयपत्रका विविध पक्षका बारेमा जानकारीसहितको प्रस्तुतिकरण दिँदै विवरण बुझाउँदा गलत विवरण बुझाउन नहुनेमा जोड दिए। 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विवरण सङ्कलन कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले भने, 'नागरिकको व्यक्तिगत विवरणलाई व्यवस्थित गर्ने राष्ट्रिय परिचयपत्र अभियानलाई सफल बनाउन स्थानीय तहले आवश्यक सहयोग गर्नेछ।' उनले हाल विवरण सङ्कलन अभियान जारी रहेको वडामा कर्मचारीको व्यवहारलगायतका गुनासो आएकाले त्यसलाई समाधान गर्नुपर्ने सुझाव दिए।  

कार्यक्रममा सूर्यविनायक नगरपालिका–२का वडाध्यक्ष कमलनाथ आचार्यले विवरण सङ्कलनमा खटिएका कर्मचारीको व्यवहार जनमैत्री नभएको गुनासो गरेका थिए। रासस

प्रकाशित: ८ कार्तिक २०७८ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App