१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रतिबन्धित मेशिन भन्सार भित्रैबाट पैठारी

देशको प्रमुख नाकाको रुपमा रहेको वीरगन्ज भन्सार भएर प्रतिबन्धित उपकरणको पैठारी गरिएको फेला परेको छ। ‘पैठारीका लागि पूर्ण बन्देज लागेका बस्तु’ को सूचीमा पर्ने ‘स्ट्र कलेक्टर वा वेलर बिनाको कम्बाइन्ड हार्बेस्टर’ (बाली काट्ने एक प्रकारको मेशिन) वीरगन्ज भन्सारले प्रज्ञापनपत्र बनाएर पैठारी गराएको छ।

वीरगन्ज भन्सारमा आएका त्यस्ता पाँच थान मेशिनमध्ये २ वटालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।  

२०७६ असार २ मा प्रकाशित राजपत्रको भाग ५ खण्ड ६९ को संख्या ११ को दफा ४ मा ‘पैठारीका लागि पूर्ण बन्देज लागेका बस्तु’ को सूची रहेको छ। सूचीको बुँदा ‘च’ मा ‘स्ट्र कलेक्टर वा वेलर बिनाको कम्बाइनड हार्बेस्टर’ उल्लेखित छ। यसैको आधारमा, सूचना आएपछि गत बिहीबार राति १० बजे वीरगन्ज २१ परवानीपुर त्रिभुवान राजपथबाट प्रहरीले २ थान त्यता मेशिन नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

‘कानूनले नै बन्देज गरेको कुरा पैठारी भएको सूचना आएपछि हामीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने निकायको जिम्मा दिन खाजेका हौं,’ खनालले नागरिकलाई भने, ‘अर्को दिन (शुक्रबार) हामीले राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउन पठायौं, क्षेत्राधिकारभित्र पर्दैन भनेर उक्त कार्यालयले अनुसन्धानको लागि लिएन। आज (आइतबार) वीरगन्ज भन्सार पठाएका थियौं, भन्सारले पनि बुझ्न मानेको छैन।’

संस्थागत मिलोमतोमा नै अबैध रुपमा यसरी आउने मालवस्तु भित्र्याउनेको संरक्षरणमा राजश्व सुरक्षण गर्ने निकायका व्यक्तिहरुको भूमिका रहने गरेको यसअघि पनि आरोप लाग्दै आएको छ। यसपटक भने घट्ना नै प्रकाशमा आएको हो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भन्सार विभागको महशुल तथा बर्गीकरण शाखाको परिपत्र अनुसार आफूहरुले भन्सार गरेको बताए। उनले बताएको पत्र राजपत्रमा कम्बाइन्ड हार्वेस्टर आयात सम्बन्धी नयाँ ब्यवस्था भएकोभन्दा ५ वर्ष पुरानो हो। अध्यावधिक रुपमा नयाँ कानूनी व्यवस्था आएपछि तत्सम्बन्धी पुराना व्यवस्थाहरु तोकिएअनुसार विस्थापित हुने गरेको कानूनका जानकार बताउँछन्।

प्रज्ञापनपत्र जाँचपास गर्ने अधिकृतले नजानेर गल्ती भएको हुन सक्ने र जानीजानी यस्तो नगरिने बताउँदै आफूहरुले यसबारेमा बुझ्न खोजिरेहको पनि दावी गरे।

कानून छलेर भित्र्याइएका मेशिनहरुको प्रज्ञापनपत्र अनुसार पटियाला पञ्जाबको नाभा जिल्लाको मुण्डे मेकानिकल वर्कस्बाट रुपन्देहीको फैज ट्रेडलिंकले आयात गर्न लागेको देखिन्छ। २९ लाख ९० हजार रुपैयाँको दरले मूल्यांकन गर्दै १ प्रतिशत शुल्क नियमअनुसार लिएर मेशिन भित्रिन दिइएको हो। पञ्जाबबाट रुपन्देही आयात गर्न सुनौली नाका नजिक पर्ने भए पनि त्यहाँ भएर यस्ता मेशिन आयात गर्न सुनौली भन्सारमा मिलोमतो हुन नसकेका कारण आयातकर्ताले वीरगन्ज नाका रोजेको प्रहरीलाई सूचना थियो।

कानूनी बन्देज भए पनि प्रतिमेशिन २ लाख रुपैयाँ लिएर भित्रिन सघाउन वीरगन्ज नाकामा सकार गर्ने पक्ष भेटिएपछि यहाँ भएर मेशिन आएको स्रोतको दावी छ। ‘पैसा घूस लिएर कुनै बस्तु भित्रिन दिएको भन्ने कुरा निराधार हो,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘भन्सारले सबै कुरा जान्दैन नी, कम्बाइन्ड हार्बेस्टरमा लागेको स्ट्र कलेक्टर वा वेलर के भन्ने भन्सारका मान्छेलाई के थाहा?’

पञ्जाबबाट रुपन्देहीमा कुनै मालबस्तु आयात गर्दा सुगौलीको तुलनामा वीरगन्जबाट भित्र्याउँदा करिब ५ सय किलोमिटर टाढा पर्छ। तापनि आयातकर्ताले वीरगन्ज नाका रोज्नु आफैमा अनौठो देखिन्छ। यस्ता बस्तु वीरगन्ज भन्सारसँग विशेष अनुभव भएकोले यहाँबाट आउने गरेको पौडेलले बताए। एकछिन अघि उनले तर्क गरेका थिए ‘भन्सार सबै कुरा जान्दैन त्यस कारणले वीरगन्ज भन्सार कार्यालयबाट भित्रिएको हुन सक्छ।’ प्रमुख भन्सार अधिकृत पौडेलले कृषिका विज्ञहरुबाट यस मेशिनको बारेमा सोधेर आफूहरु निश्कर्षमा पुग्ने बताए। ‘एउटा कृषि मेशिन भित्रियो, त्यो ठूलो कुरा होइन, भन्सारबाट कुन प्रकारले कानून मिचेर काम हुँदो रहेछ भन्ने प्रमाण हो यो,’ एक कृषि उपकरणका व्यापारीले भने, ‘हामीले कानून पालना गर्दै त्यता बस्तु मगाउँदैनौं, अर्कोतिर यस्तो हेर्दा दुःख लाग्छ।’

प्रकाशित: ७ कार्तिक २०७८ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App