६ वैशाख २०८१ बिहीबार
समाज

दुर्गम कर्णालीका जिल्लामा उड्दैनन् सरकारी जहाज

नेपाल सरकारले दुर्गम क्षेत्रको हवाइ यातायात सहज बनाउन सरकारी जहाजको व्यवस्थापन गरेको भएपनि भदौ २७ गते देखि कर्णालीमा नेपाल एयरलाइन्सले उडान भरेको छैन। नेपाल एयरलाइन्सले नियमित तालिका बमोजिम उडान नभर्दा कर्णालीका विमानस्थलमा यात्रुले चर्को भाडातिरेर यात्रा गर्न बाध्य हुनु परेको छ।

कर्णालीका जिल्लामा नेपाल एयरलाइन्सको जहाजले हप्तामा आइतबार र बिहीवार दुई दिन उडान भर्ने तालिका छ। यो तालिका अनुसार उडान हुन सकेको छैन। कहिले टेक्निकल समस्या भएको भन्दै आउँदैन। कहिले प्राकृतिक अवरोधको बाहना देखाएर कर्णालीमा उडान भर्दैन।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत सरकारी जहाज कर्णालीबासीको पहुँच भन्दा बाहिर भएकोले समस्या भएको बताउँछन्। उनले भने,‘हप्तामा दुई दिनको तालिका अनुसार सरकारी जहाज आइदिएको भएपनि खासै समस्या हुने थिएन। त्यही पनि आइदिँदैन। बिडम्वना कर्णालीले हवाइ यातायातमा महंगो भाडा तिरेर यात्रा गर्नु परिरहेको छ। नीजि विमान कम्पनीको एकाधिकारले कर्णालीबासी आजित भइसकेका छन्।

कर्णालीका नेताको नीति निर्माण तहमा राम्रो पहुँच छैन। निरीह छन्। कर्णालीका मन्त्री छैनन्। फलस्वरु कर्णालीमा हवाइ यातायातमा नीजि क्षेत्रको मनपरी छ। सरकारी जहाज देख्न कठिन छ। अध्यक्ष महतले भने, ‘अब सरकारी जहाज नियमित आउने वातावरण यहाँका प्रतिनिधिले गनुपर्छ। जसका लागि केन्द्र सरकारसंग दबाव सिर्जना गर्नुपर्छ। ’नेपाल एयरलाइन्स पहिले जहाँ दुर्गम हुन्छ त्यहाँ उडान भथ्र्यो। दुर्गमका नागरिकको एक मात्र भरपर्दो हवाइ यातायात नै नेपाल एयरलाइन्स थियो। तर अहिले सरकारी जहाज बाहना बनाएर आउँदैन।’

कर्णालीमा नीजि विमान कम्पनी कन्ट्रोलमा छैनन्। उनीहरु सरकार र संविधान भन्दा माथि जस्तै देखिन्छन्। सरकारी जहाज आउदैन। उनले भने, ‘कर्णालीमा नेपाल एयरलाइन्सको जहाज आउनुपर्छ। कर्णालीबासीलाई राहत दिनुपर्छ। अब यो विकल्प अपनाउनुपर्छ। सबै भन्दा हवाइ यातायातका लागि उत्तम विकल्प यही नै हो।’

सरकारी जहाजका सञ्चालकहरु नै नीजी विमान कम्पनीसंग मिलेर व्यक्तिगत लाभ लिएका कारण सरकारी जहाजको उडान दुर्गममा हुन नसकेको कर्णालीबासीको आरोप छ। नत्र सधैँ जहाज ग्राउडेण्ट कसरी हुन्छ? यो जहाज नीजि जस्तै चलाउने हो भने सरकारी जहाज फाइदामा जान्छ। सरकारी जहाज फाइदामा जानु भनेको सरकार फाइदामा जानु हो।’

नीतिगत लेबलमा काम गर्ने सबैलाई नीजि विमानकम्पनीले खरिद गरेका कारण यो विमान अधिकांस समय ग्राउण्डेड हुने गरेको देखिन्छ। प्राविधिक टीमले ग्राउण्डेड देखाउने, पाइलटले जहाज नउडाउने समस्याले दुर्गमका नागरिक समस्यामा परेका छन्। पञ्चायतकालमा नेपाल एयरलाइन्सको एउटै जहाज थियो। तर हप्तामा ११ उडानसम्म गरिरहेको हुन्थ्यो। नेपालगंजदेखि ७ फलाइट हुन्थ्यो। काठमाण्डौँबाट २ र सुर्खेतबाट २ फलाइट थियो। उतिबेला यात्रा गर्न निकै सहज हुन्थ्यो।  

जब कर्णालीमा नीजि विमानको आगमन भयो। सरकारी जहाज देख्न पनि महिनौ कुर्नु पर्ने अवस्था बन्यो। सरकारी जहाज पनि नागरिक मैत्री हुन सकेन। जहाँ यातायात सेवा जोडिएको हुन्थेन,त्यहाँ सरकारी जहाजले सेवा दिन्थ्यो। यो क्रम बहुदल आउनु पहिलेसम्म निरन्तर थियो। अहिले सिंहदरवारको अधिकार गाउँमा आएको भन्दै संघीय व्यवस्थाको अभ्यास भइरहेको छ। सरकारी जहाजले संघीयताको मर्म बमोजिम उडान भर्न नसक्दा झनै सास्ती भएको छ।

जुम्ला विमानस्थलमा प्रमुख प्रकाश शर्मा सरकारी जहाजले हप्तामा दुइ दिन उडान भर्ने कार्यतालिका रहेको बताउँछन्। उनले भने, ‘तर दुइ महिना जति भयो। सरकारी जहाज जुम्ला आएको छैन। जहाज ग्राउण्डेड भएको जानकारीमा आएको छ। कहिलेदेखि उडान भर्छ थाहा छैन।’ नेपाल एयरलाइन्सका जुम्ला इन्चार्ज देविप्रसाद न्यौपाने गत भदौ २७ गतेदेखि सरकारी जहाज आउन नसकेको बताउँछन्। उनले भने, ‘हप्तामा दुइदिन कार्यतालिका जानकारी भएन। तर हप्तामा एक दिन सम्म जहाज आउँथ्यो। अहिले एक जहाज बिग्रिएको छ। अर्को जहाजले विपद प्रभावित जिल्लामा उडान भरिरहेको छ।’

दसैंमा सरकारी जहाजको उडान गर्ने वातावरणको लागि सांसद तथा पुर्व सांसदहरुलाई आग्रह गरिएको थियो। तर कसैले पनि वास्ता गरेनन्। इन्चार्ज न्यौपानेले भने, ‘केन्द्रमा कर्णालीको पहुँच छैन। नियमित जहाज उडान भर्दैन। आफ्नो उडान नियमित नभएकोले कर्णालीबासीले सास्ती भोगिरहेका छन्।’ सरकारी जहाज आइपुगेको भए सास्ती हुदैनथ्यो। बिरामी जान्थे। अपांगता भएका व्यक्ति नै जान्थे। यात्रा निकै सहज हुन्थ्यो। ’ उनले कात्तिक १५ गतेदेखि उडान भर्ने तालिका आएको जानकारी दिए।

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले जहाजको नियमितताको लागि पहल भइरहेको बताए। उनले भने,‘विपद व्यवस्थापन परिषद् कर्णाली प्रदेशको बैठकले नियमित उडान गर्ने र विपदमा परेका, जहाज नपाएर थन्किएकाको उद्धार गर्ने गरि जहाज नियमित गर्न पहल गर्ने निर्णय भएको छ। यो विषयमा कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकमा पनि आवाज उठाउँछु। केन्द्र सरकार र नेपाल वायु सेवा निगमसंग पछि कुराकानी गरेर पहल अघि बढाउनेछु। ’

उनले कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदसंग यस विषयमा छलफल चलाउने बताए।  अहिले सरकारी जहाज विपद प्रभावित क्षेत्रमा गइरहेको नेपाल एयरलाइन्स क्षत्रीय कार्यालय नेपालगंजले जनाएको छ। अहिले जहाज डोटी,बझाङ र साफेतिर गइरहेको छ। नेपाल एयरलाइन्स नेपालगञ्ज प्रमुख यामराज सिंहले कर्णालीको डोल्पा बाहेक ताल्चा,जुम्ला र सिमीकोट विमानस्थलमा हप्तामा एक उडान भइहेको बताउँछन्। अहिले जहाज सुदुरपश्चिम केन्द्रीत भएकोले कर्णालीको सेडुअल बनिसकेको छैन।

उनले भने, ‘जहाज कम छन्। धेरै पुराना जहाज छन्। पटक पटक मर्मत गर्नुपर्छ। जसका कारणले नियिमत उडान हुन सकिरहेको छैन। ’पूर्वतिर सुगम भएकोले दुर्गम कर्णालीतिर प्राथमिकता दिनु पर्नेमा जोड दिएको उनले बताए। कर्णालीका जिल्लामा नियमित सरकारी जहाजको उडान गर्नको लागि कर्णालीबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने प्रतिनिधिले पहल थाल्नु पर्ने कर्णालीबासीले बताएका छन्। कर्णालीमा सरकारी जहाजको नियमितता नभएका कारण नीजि कम्पनीका जहाजको मनपरी चलिरहेको छ। सर्वसाधारणले समयमा टिकट पाउदैनन्। 

फोनकै भरमा टिकट बुकिङ हुने गरेको छ। सरकारी जहाजको नियमित उडान हुदा एक हप्ता अघि देखि नै टिकट कार्यालयमा गएर लिन सकिने अवस्था छ। सरकारी जहाज देखेका छौँ। चढ्न पाएका छैनौँ। यो देखाउन किनिएको जहाज होकी दुर्गममा जनताको सेवा गर्न ल्याएको जहाज हो,स्थानीय उमेश बुढाले भने, ‘संघीयताले सिहंदरवारको अधिकार गाउँमा ल्यायो, तर सरकारी जहाज चढ्न पाउने अधिकार सुनिश्चित गर्न सकेन।’

प्रकाशित: ७ कार्तिक २०७८ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App