८ वैशाख २०८१ शनिबार
समाज

भालुको आक्रमणबाट महिला चौकीदारको मृत्यु

जुम्लामा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। तातोपानी गाउँपालिका ५ लाम्रा गाउँकी ५५ वर्षीया रुदा डाँगीको भालुको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले भालुको आक्रमणबाट महिलाको मृत्यु भएको बताए। मृतक महिला गाडापारी सामुदायिक वनको चौकीदार थिइन्।

वनको रेखदेख गर्न गएको बेला मध्यान्ह १२ बजे भालुले आक्रमण गरेको स्थानीय बताउँछन्। मृतक महिलाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको छ।  

स्थानीय सुर्य डाँगीले एक्कासी जंगलतिर मान्छे कराइरहेको आवाज सुनेको बताए। ‘बिहान मान्छे कराएको आवाज आएको थियो’, उनले भने,’ ‘दिउँसो भालुले आक्रमण गरेर भालुले मारिसकेको खबर प्राप्त भयो।’  

भालु दुई दिनदेखि गाउँ नजिकैको जंगलमा कराइरहेको थियो। शुक्रबार तातोपानी धारा नजिकैबाट जंगलतिर गएको स्थानीय बताउँछन्। गाउँमा दिनदहाडै भालु प्रवेश गर्न थालेपछि स्थानीय त्रसित छन्। भालुले आक्रमण गरेर मान्छे मारेको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। तर भालु भागिसकेको स्थानीयले जनाएका छन्।  

वनको चौकिदार डाँगीलाई भालुले आक्रमण गरेको खेतमा धान भित्र्याउन गएका किसानले थाहा पाएका थिए। उनीहरुका अनुसार भालुसँगै दुई बच्चा छन्। भालुले गाउँबाट जंगल चराउन लिएको गाई समेत मारेको थियो। भालु पानी पिउन खोलातिर आउँदै गरेको अवस्थामा जम्काभेट भएको थियो।  

प्रकाशित: ६ कार्तिक २०७८ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App