coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घर फर्किन सकेनन् बाढी पीडित

टीकापुर नगरपालिका–८ पुदालटोलकी ६९ वर्षीया नन्दकला विश्वकर्मा विगत पाँच दिनदेखि सूर्यपुरस्थित राष्ट्रिय प्राविको भवनमा बसिरहेकी छन्। उनी कर्णाली नदीको बाढीले घर बगाएपछि आश्रय खोज्दै विद्यालय भवनमा पुगेकी हुन्।

बाढीले घर बगाएपछि उनी गाउँ फर्किन सकेकी छैनन्। उनी मात्रै हैन, पुदालटोलका १२ घरपरिवार समेत सोही विद्यालयमा बस्दै आएका छन्। उनीहरुमध्ये सबैको घर बाढीले बगाएको छ। तत्काल घर फर्किने अवस्था नभएपछि उनीहरु विद्यालय भवनमा रात बिताइरहेका छन्।  

टीकापुर नगरपालिकाका विभिन्न वडाका ३९५ घरपरिवार अहिलेसम्म घर फर्किन सकेका छैनन्। उनीहरु मध्ये धेरैजसोको घर बाढीले बगाएको छ। कतिपयको घर भत्किएर बस्न सक्ने अवस्था छैन। उनीहरु सबै विद्यालय भवन, सुरक्षित आश्रय स्थल र आफन्तकोमा बसिरहेका विपद व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले जानकारी दिइन्।

बाढीका कारण घर गुमाउनेमा टीकापुर नगरपालिकाभित्र सबैभन्दा धेरै वडा नं. ८ का बासिन्दा रहेका छन्। चौधरीका अनुसार वडा नं. ८ का मात्रै २५० घरपरिवार घर छोडेर अन्यत्र बस्दै आएका छन्।  

उनीहरुमध्ये वनगाउँस्थित सुरक्षित स्थलमा ६०, कर्णाली पुलमा ५८, कालिमाटी स्कुलमा ६०, त्रिभुवन मावि बटनपुरमा ६० र राष्ट्रिय प्रावि सूर्यपुरमा १२ घरपरिवार बस्दै आएका छन्।  

त्यस्तै वडा नं. १ मा शिवनगर स्कुलमा १२, नयाँ नेपाल स्कुलमा १०, वडा नं. २ मा आफन्तकोमा ६, वडा नं. ३ मा सुरक्षित स्थलमा ४०, वडा नं. ५ मा त्रिभुवन मावि मौरानियामा २२, वडा नं. ६ मा आफन्तकोमा २५ र वडा नं. ७ मा कर्णाली मावि सत्तीमा ३० घरपरिवार बस्दै आएका छन्।  

उता जानकी गाउँपालिकामा समेत बाढीपछि ११३ घरपरिवार घर फर्किन सकेका छैनन्। उनीहरुसमेत विभिन्न विद्यालय र आफन्तकोमा बस्दै आएका छन्। विपद व्यवस्थापन शाखा प्रमुख नेत्र न्यौपानेका अनुसार वडा नं. ३ मा ५० घरपरिवार बालमुक्ति आधारभूत विद्यालय जगतपुरमा बस्दै आएका छन् भने वडा नं. ९ मा ६० र वडा नं. ३ मा ३ घरपरिवार आफन्तकोमा बस्दै आएका छन्।

बाढीका कारण विस्थापित भएकाहरुलाई राहत वितरणको काम सुरु भएको छ। उनीहरुलाई तत्काल खाद्यान्न, त्रिपाल, ओढ्ने ओछ्याउने सामाग्री राहत स्वरुप वितरण भैरहेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए। उनले रेडक्रसको सहयोगमा बाढी पीडितलाई राहत वितरणको काम भैरहेको बताए।  

टीकापुर नगरपालिकामा समेत वडा कार्यालय मार्फत राहत वितरणको काम भैरहेको छ। नगरपालिकाले बाढी पीडित बस्दै आएको ठाउँमै पुगेर राहत वितरण गरिरहेको शाखा प्रमुख चौधरीले जानकारी दिइन्।  

बाढी पीडितलाई विभिन्न संघसंस्थाहरुले समेत राहत वितरण गर्दै आएका छन्।

प्रकाशित: ६ कार्तिक २०७८ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App