१९ मंसिर २०७८ आइतबार
समाज

तस्करी खुल्ला गरेर सार्वजनिक ठाउँमा तास खेल्छ सर्लाहीको सुरक्षा निकाय

तस्करी खुल्ला गरेर तस्करीकै भोज खाँदै सर्लाहीको सुरक्षा निकाय सार्वजनिक ठाउँमा तास खेल्ने गरेको तथ्य बाहिरिएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी, सर्लाही प्रहरी प्रमुख तथा सर्लाही सशस्त्र प्रहरी प्रमुखसहित बिओपीका सशस्त्र प्रहरीले सार्वजनिक स्थलमा तास खेलेको तथ्य बाहिरिएको हो।

नेपाल भारत सीमामा सर्लाहीमा व्यापक तस्करी हुने गरेको समाचार बारम्बार आउँदा पनि सर्लाहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुखले तस्करी नियन्त्रण गर्नुको साटो तस्करीलाई भोज र मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्ने गरिएको रहस्योद्घाटन भएको छ।

सर्लाहीको मनुसमारा बेस क्याम्प र मधुवनी बेस क्याम्पका प्रमुखले धेरै कमाएको भन्दै सर्लाहीको सुरक्षा निकायले गत भदौ २६ मा भोजको आयोजना गर्न लगाएको थियो। दुवै बेस मिलेर खसी काटेर भोज आयोजना गरेको र सर्लाहीको सुरक्षा निकायका प्रमुखहरुले तस्करीको भोज खाँदै बेस क्याम्पमै तास खेलेको फोटो र भिडियो सार्वजनिक भएको छ।  

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी गंगाराम श्रेष्ठसहित भोज आयोजना गरिएको थियाे। छतौना बेस क्याम्पका प्रमुख इन्स्पेक्टर सन्जीप तिवारी र मधुवनी  बेसका  इन्स्पेक्टर फणिन्द्र गाेलेले आयोजना गरेकाे भाेजमा तास खेलेकाे  फाेटाे र भिडियाे  सार्वजनिक भएका हुन्। भिडियाे फाेटाे साविनक गर्ने क्याम्प भित्रकै कमर्चारि भएकाे स्रोतबाट बुभिएकाे छ

जिल्लामा जुवा, तास नियन्त्रण गर्ने, अवैध कारोबार नियन्त्रण गर्ने जिम्मेवार निकायका प्रमुखहरुले नै मनुसमारा बेस र छतौना बेसमा भइरहेको तस्करीको पैसाबाट भोजको आयोजना गर्न लगाएर एकातिर तस्करीलाई बढावा दिएको र अर्कोतिर सामाजिक विकृति बढाउने किसिमले सार्वजनिक ठाउँमा तास खेलेर सुरक्षा निकायको जिम्मेवारी नै बिर्सिएको आरोप लागेको छ।  

सर्लाहीका सुरक्षा प्रमुखहरुले सार्वजनिक ठाउँमा तास खेलेको दिन मनुसमारा बेस क्याम्पका कमान्डर धर्मेन्द्र भन्डारी बिदामा गएको समयमा मधुवनी बेसका इन्स्पेक्टर फणीन्द्र गोले र छतौना बेस क्याम्पका इन्स्पेक्टर सन्जीप तिवारीले भोजको संयुक्त व्यवस्थापन गरेका थिए।

सर्लाहीको सुरक्षा निकायका प्रमुखहरु नै सार्वजनिक ठाउँमा तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि सबैले सफाइ दिन थालेका छन्। प्रमुख जिल्ला अधिकारी महतोले आफू त्यहाँ नभएको प्रतिक्रिया दिएका छन्। सार्वजनिक ठाउँमा तास खेलिएको भनिएको ठाउँमा आफू उपस्थित नरहेको प्रजिअ महतोले बताए पनि उच्च सुरक्षा स्रोतका अनुसार प्रजिअ महतोसित गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्तोष राठौरलाई प्रतिक्रिया लिन खोज्दा बिदामा गएको जानकारी प्राप्त भएको छ। सार्वजनिक ठाउँमा तास खेलेको समाचार बाहिरिने भएपछि एसपी राठौर आफूमाथि हुन सक्ने सम्भावित कारवाहीलाई मिलाउन व्यस्त रहेको स्रोतको भनाइ छ।

सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी गंगाराम श्रेष्ठसित सम्पर्क गर्न खोज्दा फोन नउठाएकाले प्रतिक्रिया लिन नसकिएको हो। सर्लाहीको सुरक्षा निकायले तस्करी गराउँदै भोज र तासमा रमाएको फोटो र भिडियो सार्वजनिक भएसँगै जिल्लामा आलोचना भइरहेको छ।

प्रकाशित: ४ कार्तिक २०७८ १९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App