coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खानेपानी प्रमुखलाई नियन्त्रणमा लिएर दुर्व्यवहार

हिलोपानी छ्यापेर माथिल्लो शरीर नाङ्गै पारी नगर घुमाउँदा प्रहरी मुक

खानेपानी तथा ढल विकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि सिके राउतको जनमत पार्टीले हिलेपानी छ्यापेर नगर घुमाउँदै। तस्बिर: नागरिक

सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाममा एक सरकारी कर्मचारीमाथी दुर्व्यवहार गरेको छ। ‘जनकारवाही’ को नाममा खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार भएको हो।

जनमत पार्टीका कार्यकर्ताले बिहीबार कार्यालयबाटै कुशवाहालाई बन्धक बनाएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन्। जनकपुरमा ढल निकासको उचित प्रबन्ध नगरेको झोंकमा सैयौंको संख्यामा रहेका सो पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई पिराडी चोकस्थित कार्यालयमा पुगेर बन्धक बनाएका थिए। सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलमग्न भएपछि राउत समर्थक कार्यकर्ता कुशवाहालाई नियन्त्रणमा लिएर आक्रोश पोखेका हुन्।

आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए। प्रमुख कुशवाहाको माथिल्लो शरीर नाङ्गै पारी भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले शरीरमा हिलो फालेर नगर परिक्रमा गराएको छ।  

सरकारी कार्यालयका प्रमुखलाई बन्धक बनाएर जनकपुर घुमाइरहँदा प्रहरी भने निरीहतापूर्वक अघिअघि मात्रै हिँडिरहेका थिए। प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले टिसर्ट च्यातिदिएर घण्टौं घुमाइरहे। प्रमुख कुशवाहालाई राउत समर्थकले करिब १ घण्टा जनकपुर घुमाएका थिए। नगर घुमाएर जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय नजीक पुर्‍याएपछि मात्र प्रहरीले उनको उद्धार गर्न सकेको थियो। 

‘सरकारी कार्यालयका प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर राउत समर्थकले हिलोपानी छ्यापेर सँगै घुमाएको घटना दुःखद हो ,’ धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले नागरिकसँग भने,‘प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको छ। वाँकी कुरा अहिले बताउन सकिन्न, उनले भने।’ जनमत पार्टीले केही समययता भ्रष्टाचार मुद्दा उचाल्दै प्रदर्शन गर्दै आइरहेको छ।

प्रकाशित: ४ कार्तिक २०७८ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App