coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पश्चिम तराईमा पर्वको उल्लास

हिन्दुको कोजाग्रत पूर्णिमा र मुस्लिम समुदायको मोहम्द डे एकै दिन

मोहम्म डे कोर्‍ यालीमा आएका नेपालगन्जका मुस्लिम समुदाय । तस्बिरः गणेश/नागरिक

पश्चिम नेपालस्थित तराईका जिल्लामा मंगलबार पर्वको उल्लाह छायो। हिन्दु र मुस्लिम धर्मावलम्बीहरूले परम्परागत रूपमा आआफ्नो पर्व मनाएका छन्। हिन्दुले मंगलबार कोजाग्रत पूर्णिमा र मुस्लिम धर्मावलम्बीहरूले इस्लाम धर्म प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव ‘मोहम्द डे’ उमंगका साथ मनाएका छन्।

हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको पर्वले मंगलबार पश्चिम तराईका जिल्ला बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलवस्तु लगायतका जिल्लामा उल्लास छाएको छ। हिन्दु धर्मावलम्बीहरूले मनाउने दसैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ। 

आस्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ। 

यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले कोजाग्रतको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ।

प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजाआराधना गरी बिसर्जन गरिएको छ। दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैं घर र कोतहरूमा राखिएका जमरा बिसर्जन गर्ने परम्परा रहेको नेपालगन्जकी लक्ष्मी शर्माले बताइन्।

‘कोजाग्रत पूर्णिमाको भोलिदेखि आकाशदीप बाल्ने परम्परा छ,’ उनले भनिन्, ‘कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान् विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन छ।

’दसैंको अन्तिम दिन पूर्णिमामा हिन्दूहरूले दसैंमा टीका लगाउन छुटेका आफन्तहरूबाट टीका जमारा लगाएका छन्। विशेषगरि घरदेखि टाढा रहेका आफन्तले दसैंका रूपमा कोजाग्रत पूर्णिमाको दिन टीका जमरा लगाएर मनाउने गर्छन्। कोजाग्रत पूर्णिमासँगै यस वर्षको दसैं पनि समापन भएको छ। पूर्णिका दिन केही स्थानहरूमा मेलासमेत लागेको छ।

यता मुस्लिम समुदायले धर्म प्रवर्तक हजरत मोहम्मदको उल्लासमय वातावरणमा जन्मदिन मनाएका छन्। ‘मोहम्मद डे’ भनिने यस पर्वमा मिष्टान्न परिकार खाने खुवाउने र मोहम्मदका उपदेश सुन्ने परम्परा रहेको मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अदेर हुसेन फारुतीले बताए।सयौं वर्षदेखि यो परम्परा मनाउँदै आएको उनको भनाइ छ। 

प्रवर्तक हजरत मोहम्मदको जन्मदिनलाई उल्लासका साथ मनाउने गरेको उनी बताउँछन्। ‘जन्मदिनको अघिल्लो रात जाग्राम बस्ने र भोलिपल्ट पूजाआजा गरेर समापन हुन्छ,’ उनले भने, ‘यस पर्वलाई हामीले सयौं वर्षदेखि परम्परागत ढंगले मनाउँदै आएका छौं। ’ गत वर्ष कोभिड–१९ (कोरोनभा भाइरस) को जोखिमका बीच मनाइए पनि यस वर्ष भने स्वास्थ्य मापदण्ड पालना गरेर मोहम्मद डे मनाइएको उनले बताए। 

नेपाली मुस्लिम समुदायमा हौसला बनाउन र पैगम्बर हजरत मोहम्मदप्रति सम्मान व्यक्त गर्न आफूहरूले पर्वका रूपमा मनाउने गरेको नेपालगन्जका रोशन जमिनले बताए। मंगलबार नेपालगन्जलगायतका मुस्लिम समुदायको बाहुल्य रहेका जिल्लामा उल्लासमय रूपमा र्‍याली निकालिएको थियो। 

दसैंको अन्तिम दिन मोहम्द डे परेकाले पश्चिम तराईका जिल्लामा पर्वको रौनक छरिएको छ। मुस्लिम धर्मका प्रर्वतक हजरत मोहम्मद सल्ललाहे अलैय असल्लम दुबईको सहर मक्कामा सेप्टेम्बर १० तारेखका दिनमा जन्मिएका थिए। सोही दिनलाई यो समुदायले पर्वका रूपमा मनाउँदै आएको छ। 

प्रकाशित: ३ कार्तिक २०७८ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App