coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुदूरपश्चिममा बाढीपहिरोले ठूलो क्षतिः ६ को मृत्यु, २६ जना बेपत्ता, हजारौ विस्थापित

सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति पुर्‍याएको छ। अविरल वर्षाका कारण पहाडी जिल्लामा आएको पहिरोमा कयौ घर बगेका छन् भने बाढी र पहिरोले सयौ परिवार विस्थापित भएका छन्।

सुदूरपश्चिमका ३ ठूला नदी कर्णाली, महाकाली र सेती नदीमा पानीको बहाव अत्यधिक बढेको छ। तराई जिल्लामा किसानहरुले भित्र्याउने तयारी गरेका धानहरु वर्षातका कारण पूर्ण क्षति भएको छ। वर्षातले ठाउँ ठाउँमा पहिरो गएर सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने सबै राजमार्ग अवरुद्ध बनेका छन्। सुदूरपश्चिमको राजधानी धनगढी समेत डुबानले जलमग्न भएको छ।

सुदूरपश्चिमका बिभिन्न पहाडी दुर्गम बस्तीमा प्रहरी पुग्न नसकेको, टेलिफोन सेवा अवरुद्ध भएको र अविरल वर्षा जारी रहेकोले बाढी र पहिरोले पुर्‍याएको क्षतिको सबै विवरण आउन सकेको छैन। सयौ चौपायाको मृत्यु भएको छ।

६ को मृत्यु, ५ घाइते

सुदूरपश्चिममा तीनदेखि आईरहेको अविरल वर्षाले मंगलबार साँझसम्म ६ जनाको मृत्यु भएको छ। डोटी सायल गाउँपालिका, ६ मेल्लेखमा  सोमबार राती घर भत्किँदा १४ वर्षीय सागर कुन्जेडा र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले बताएका छन्। यसैगरि माथिबाट सोमबार राती आएको पहिरोले घर पुरिँदा डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ।

यसैगरि बैतडी शिवनाथ गाउँपालिका, ६ मा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ। १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरि पहिरोले घर पुरिँदा ५ जना घाइते भएका छन्।

बझाङमा पहिरोले बगाएर २३ बेपत्ता

तीन दिनदेखिको अविरल वर्षाले बझाङ थलारा गाउँपालिका डिक्लाको सितल भन्ने स्थानमा पहिराेले ७ घर पुरिँदा २३ जना बेपत्ता भएको स्थानीयले बताएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता चन्दले मंगलबार बिहान ५ बजेतिर उक्त स्थानमा पहिरो गएर १९ सार्की थरका व्यक्तिको घर र ५ पार्की थर व्यक्तीको घरमा पहिरोले क्षति भएको बताए। प्रहरी मंगलबार साँझ मात्र पुगेकाले कति जना बेपत्ता भन्ने एकीन विवरण आउन नसकेको उनले बताए।

स्थानीयका अनुसार गगने सार्कीका परिवारका दाजु भाई, भाईबुहारी, छोराछोरी, नातीनातीना समेत गरेर १८ जना र नरबहादुर पार्कीका छोराछोरी र श्रीमतीसहित पाँच जना समेत गरेर २३ जना पहिरोले घर बगाउँदा बेपत्ता भएका छन्। गगने रोजागारीका शिलशिलमा भारतमा छन्। उनका माईला छोरा काले सार्की मात्र सकुशल छन्। यसैगरि नरबहादुर पार्कीका घरमा ५ जना बेपत्ता छन्।

पहिरोले घर बगाएर विस्थापित भएकाहरूलाई विद्यालयमा राखिएको छ। यसैगरि कैलालीमा ३ जना बेपत्ता छन्। लम्कीचुहा नगरपालिका वडा नं ३ का ६१ वर्षीय खडकबहादुर घर्तिमगर, ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर कर्णालीमा माछा मार्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।

पहिरोले सुदूरपश्चिमका पहाडी जिल्लाका सबै सडक अवरुद्ध

लगातार वर्षाले बिभिन्न ठाउँमा पहिरो गएर सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने महत्वपूर्ण सबै राजमार्ग अवरुद्ध भएका छन्। सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लालाई अत्तरियाबाट जोड्ने भीम दत्त पन्त राजमार्ग बिभिन्न ठाउँमा आएको पहिरोले अवरुद्ध भएको छ। यसैगरि बझाङको जयपृथ्वी सिंह राजमार्ग, केआई सिंह राजमार्ग, पहलमानपुर राजमार्ग ठाउँ ठाउँमा पहिरो गएर अवरुद्ध भएका छन्। सदूरपश्चिमका ७ वटै पहाडी जिल्ला जोड्ने महत्वपूर्ण राजमार्ग पहिरो गएर अवरुद्ध रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक चन्दले बताए।

राजमार्ग अवरुद्ध हुदाँ ठाउँ ठाउँमा दर्जनौ सवारीसाधन र सयौ यात्रु अलपत्र परेका छन्। डोजर लगाएर अवरुद्ध सडक खोल्ने कार्य भैरहेको तर लगातारको वर्षाले केही समयका लागि खुलेको सडक पुनः अवरुद्ध हुने समस्या भैरहेको उनले बताए।

हजार भन्दा बढी परिवार विस्थापित

सुदूरपश्चिमका ठूलो नदीहरुमा पानीको बहाव बढेर पानी बस्तीमा पस्दा कयौ बस्ती डुबानमा परेका छन्। महाकाली नदीको पहानीको बहाव बढेर बस्तीमा पर्दा दोधारा चादनी १० कुतिया, कभर, शान्ती टोल, बैडीफाटा, निशान टोली  र भीम दत्त नगरपालिकाका १२ ओदाली र ऐरीमा १ हजारभन्दा बढी जना विस्थापित भएका छन्। विस्थापित परिवारलाई उद्धार गरेर विद्यालयमा राख्ने काम भैरहेको चन्दले बताए।

‘अहिले सम्म ८,९ सय जना उद्धार गरेर ४ वटा विद्यालयमा राखेका छौं, अहिले पनि उद्धार कार्य भैरहेको छ’, उनले भने। यसैगरि कर्णाली नदी गाउँ पसेर जानकी गाउँपालिका र टीकापुरमा करिव १ सयभन्दा बढी विस्थापित भएका छन्। मंगलबार साँझसम्म पनि अविरल रुपमा वर्षा जारी रहेकोले क्षति बढ्न सक्ने देखिएको छ।

पहाडी जिल्लामा संचार सेवा अवरुद्ध

लगातारको वर्षाले सुदूरपश्चिमका ७ पहाडी जिल्लाका अधिकांस स्थानमा संचार सेवा अवरुद्ध भएको छ। पहाडमा संचार सेवा अवरुद्ध भएको प्रवक्ता चन्दले बताए। यसैगरि विद्युत सेवा पनि अवरुद्ध रहेको उनले बताए। सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, अछाम र बाजुरामा विद्युत र टेलिफोन सेवा पूर्ण रुपमा अवरुद्ध भएको उनले बताए।  

बैतडीमा सेती नदीमा ६० जना फसे

बैतडीको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा सेती नदीमा आएको बाढीका कारण १० परिवारका करिब ६० जना नदीको बीच भागमा फसेका हुन्। हेलिकोप्टरबाट मंगलबार फसेका ६० जनाको उद्धार गर्न खोजेपनि मौसमका कारण सफल हुन नसकेको प्रहरीले जनाएको छ। नदी दुवैतिर बग्दा उनीहरु टापु झै बीचमा अड्किएका छन्।

प्रकाशित: २ कार्तिक २०७८ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App