coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राजापुर र गेरुवाका एक हजार घर डुबानमा

कर्णाली नदीमा मंगलबार आएको बाढीले राजापुर र गेरुवाका एक हजार घर डुबानमा परेका छन्। कर्णाली नदीले विभिन्न ठाउँमा बाँध भत्काएर राजापुर र गेरुवाका विभिन्न स्थान डुबानमा पारेको हो। राजापुर नगरपालिकाको तिग्रा, चनौरा, दौलतपुर र गेरुवा गाउँपालिकाको पाताभारमा डुबान भएको छ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको विभिन्न स्थानबाट बाढीमा फसेका २ सय ५० जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। कर्णाली नदी बढ्ने क्रममा रहेकोले राजापुर र गेरुवा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालित गरिएको छ।

कर्णाली नदीले राजापुर नगरपालिका–१ टिउनी घाटस्थितबाट बाँध भत्काएर बस्ती डुबाएको हो। बाढी बस्तीमा पस्दा शान्ति बजार जाने सडक अवरुद्ध भएको छ। त्यसैगरी सनकट्टी घाटबाट बाँध भत्काएर कर्णाली नदीले गेरुवाको पाताभारमा डुबानमा पारेको हो।

गत आइतबारदेखि परेको अबिरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेको छ। मंगलबार साँझ कर्णाली नदीको जलस्तर खतरा तह १०.८ मिटर पारगरी ११.९० मिटरभन्दा माथि पुगिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

तटीय क्षेत्र गाउँबस्तीका वासीलाई सतर्क रहन राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले आग्रह गरेका छन्।

कर्णाली नदीमा पानीको बहाव बढेकोले नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने र माछा मार्नेजस्ता गतिविधि नगर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित: २ कार्तिक २०७८ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App