७ वैशाख २०८१ शुक्रबार
समाज

चाडवाडमा सकस यात्रा

आफन्तकोमा टिका जमरा थाप्न र काम विशेषले दशैँ मनाएर गाउँबाट शहर फर्कनेहरुले दशैँको भोलि पल्टदेखि पूर्णिमाको दिन मंगलबारसम्म निकै सास्ती खेप्नु पर्यो। गोरखाबाट काठमाडौँ, चितवन हिँडेका यात्रुले चारदिन यता सहज रुपमा गाडी पाएका छैनन्।

हरेक दिन गोरखाको हरमटारी चोक आसपास सयौँ यात्रुले सवारी साधनको पर्खाइमा दिन बिताए तर पनि सिट पाएनन्, निसास्सिएर यात्रु गर्न बाध्य भए।  

गोरखामा भएका सवारी साधनले यात्रुको चाप थेग्न नसक्दा सर्वसाधारणले कष्टकर यात्रा गर्न बाध्य छन्। केहीले निजी सवारी साधन रिर्जभ गरेर आउजाउ गरेका छन् भने कतिपय भाडाका सवारी साधन पनि रिर्जभ भए जाने नभए एक क्यूभन्दा नजाने गरेका छन्। माईक्रोबस, मिनिबसमा सर्वसाधारणको चाप धेरै छ।  

वर्षात्का कारण यात्रुले सोमबार र मंगलबार अन्य दिनभन्दा थप सास्ती खेप्नुपरेको छ। वर्षात्ले ग्रामीण सडक हिलाम्य छ भने गाडीको पर्खाइमा झरीमा रुझ्दै बस्नुपरेको गुनासो यात्रुको छ। गोरखाको ढुङ्गागाढेदेखि अस्पताल मार्ग सम्मको सडक हिलाम्य छ। पैदल हिँड्ने ठाउँ समेत छैन। ‘मोटरसाइकलमा आउँदा पूरै शरीर हिलो छ्यापेको जस्तो भएको छ’ बुङ्कोटदेखि गोरखा सदरमुकाम मोटरसाइकलमा आउँदै गरेको राजेश श्रेष्ठले भने। ठूला बस, मालवाहक सावरी साधन भेट भयो भने झनै हिलाम्य हुने उनले बताए। मंगलबार बिहान ढुङ्गागाढेमा यात्रुबाहक बस हिलोमा फस्दा केहीबेर सडक अवरुद्ध भएको थियो।

उक्त सडक भएर पैदल यात्रु पनि आउजाउ गरिरहन्छन्। सवारी साधनको चाप अत्याधिक भएकाले हिलोबाटोमा पैदल हिड्न झनै समस्या भएको गुनासो स्थानीयको छ। २०७७ भदौ २४ गते पक्की नालीसहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको बानियाँ निर्माण सेवाले सडक निर्माणमा हेलचेक्र्यार्इँ गरेको छ।

गोरखा सदरमुकाम भएर आरुघाट, घ्याम्पेशाल, बुङ्कोट, बोर्लाङ, सोती, माछाखोला, ताकुकोट लगायत ठाउँमा सवारी साधन आउजाउ गर्छन्। ग्रामीण भेगको मुख्य व्यापारिक केन्द्र आरुघाट जाने उक्त सडक खण्डमा सवारी साधन आउजाउ बाक्लो हुन्छ। चार दशमलव ६ किलोमिटर सडक दुई वर्षभित्र निर्माण सक्ने गरी ८ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो। सडकमा अहिले काम गर्ने मान्छे खासै देखिँदैनन्।

गोरखा सदरमुकाम भएर नारेश्वर जाने सडकको हबिगत पनि उस्तै छ। पूर्वाधार कार्यालय गोरखाले २०७६ फागुन १४ गते रौताहापि.के÷गोरखा जेभिलाई दुई वर्षमा निर्माण सक्ने गरी २५ करोड ६३ लाख रुपैयाँमा ठेक्का दिएको थियो। १० किलोमिटर लामो गैरीकुवा–नारेश्वर सडक खण्ड पक्कि नाली सहित प्रिमिक्स कार्पेट प्रविधिबाट कालोपत्रे गर्ने सम्झौता भएको हो। उक्त सडक खण्ड पनि हिलाम्य छ।  

‘दुई वर्ष भयो सडकको बेहाल छ’ नारेश्वरका बाबुराम बस्नेतले भने, ‘दिनदिनै हिलोमा सवारी साधन लड्छ। सडकको हिलोले सवारी साधनमा यात्रा गर्नेलाई मात्र होइन, गाडी आएको देखेपछि सडक छाडेर पैदलयात्रीलाई भाग्नुपर्ने अवस्था रहेको उनले बताए। हिलाम्य सडकमा जोगिएर हिँड्न सर्वसाधारणलाई मुस्किल छ।

चाडवाडका बेला सरमुकाम भएर अन्य जाने सडक हिलाम्य हुँदा जेष्ठ नागरिक र बालवालिकाहरु झनै समस्या परेका छन्। ग्रामीण भेगबाट सोझै काठमाडौँ जाने गाडी पनि खचाखच छ। कतिपयले गाडी नपाउँदा महँगो भाडा तिरेर रिजर्भ गर्नुपरेको बताएका छन्। ट्राफिक प्रहरीले भने बढी भाडा लिएमा तत्काल खबर गर्न र ती सवारी साधनलाई कारवाही हुने जनाएको छ। ट्राफिक अशोक बिष्टले भिडभाड बढेसँगै निगरानी बढाइएको बताए। ‘सवारी साधनको चाप पनि अत्यधिक बढेको छ’ उनले भने।  

जिल्ला प्रहरी कार्यालय गोरखाले यात्रुको सजिलोका लागि हरमटारीचोक, बाह्रकिलो, अबुवा जस्ता नाकामा हेल्प डेक्स संचालन गरेको छ।

प्रकाशित: २ कार्तिक २०७८ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App