७ वैशाख २०८१ शुक्रबार
समाज

तिला नदीको बहाव बढ्यो, खोला किनारका बस्ती जोखिममा

अविरल वर्षासँगै जुम्लास्थित तिला नदीको बहाव बढेपछि नदीकिनारामा रहेका वस्ती जोखिममा छन्। अहिले बस्ती हँुदै नदी बगिरहेको छ। खेतीयोग्य जमिन बगरमा परिणत भएको छ। यो वर्षाले किसानलाई रुनु र हास्नु बनाएको छ।

जुम्लाको तिला र हिमा नदी छेउछाउमा पाकेर भित्र्याउन थालिएका धानका खेतमा बाढी बसेको छ। काटेको धान बगाएका छन्। जुम्लाको तातोपानीदेखि पानसय क्षेत्र र कुडारी हँुदै नुवाकोट क्षेत्रमा भारी वर्षा र बाढीले मार्सीधानका कतै खेत त कतै धान डुबाएको स्थानीयले जनाएका छन्।  

मार्सीधानको उद्गमस्थल मानिने तातोपानी गाउँपालिकास्थित लाछु ज्यूलाको आधा भागमा बाढी आएको छ। जसले धानखेत नष्ट भएको छ।  ठूलाठूला काठे पुलहरु समेत बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए।  

उनले भने, ‘नदीमा पानीको बहाव अहिले सम्मकै उच्च छ। नदी किनारका घर जोखिममा छन्।  नदी किनारका घट्ट, पुलपुलेसा बगिसकेका छन्। जसका कारण आवतजावत गर्न कठिन भइरहेको छ।’

तातोपानी गाउँपालिका ४ हाकु क्षेत्रको ठाँटा ज्यूलामा ठूलो क्षति भएको स्थानीय देवीप्रसाद पाण्डेले बताए। उनले भने, ‘खेतीयोग्य जमिन बगाएर लगिसक्यो। विद्यालयको मैदान हुँदै नदी बगिरहेको छ। मेरो मात्र ४ भारी खेत बगायो। गाउँलेको झण्डै ५० देखि ६० भारीको धानको फाँटमा नदी बगिरहेको छ।’

यता चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि ठूलो बाढी आइरहेको किसान धनरासी भण्डारीले बताए। तिला गाउँपालिका ४ का स्थानीय नरबहादुर शाही अनुसार अविरल बर्षाले तिला गाउँपालिकाको वडा नम्बर ४ स्थित सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुल समेत बगाएको छ।

लगातारको वर्षाले काटेका मार्सी धान एकातिर खेतमै थन्किएर नष्ट भएका छन् भने अर्कोतिर मार्सीका फाँटै बगरमा परिणत भएपछि भित्रिन लागेको धानमा ठूलो क्षति भएको छ। यसैगरी सिमी र घाँस समेत कुहिएको किसानहरुले जनाएका छन्।

सिञ्जा क्षेत्रमा समेत हिमा नदीको बहावले ठूला मार्सीधानका फाँटहरु क्षति हुनसक्ने अनुमान गरिएको छ। यसैगरी तातोपानी ८ स्थित टोप्ला क्षेत्रमा ठूलो बाढी आएको स्थानीयले जनाएका छन्। जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर सातमा भेरीखोला नदीले १ सय १७ ओटा भेडा र ३ कुकुर बगाएको खबर प्राप्त भएको छ। तातोपानी गाउँपालिका वडा नम्बर ७ पातरसाघुँमा आएको नदीको बाढीले १ सय १७ ओटा भेडा ३ कुकुर बगाएको स्थानीय बताउँछन्।  

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिलातर्फ लागेको छ। प्रहरी नायव उपरीक्षिक दानबहादुर थापाका अनुसार भारी वर्षाले नाग्म गमगडी राजमार्गको बाटो बन्द भएको छ। डिएसपी थापाका अनुसार रारालिही क्षेत्रका नदी छेउछाउका बासिन्दालाई नबस्न माइकिङ गरेको थियो।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले भारी वर्षा र बाढी बढेकाले नदी र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नागरिकलाई नबस्न अपिल गरे।  

प्रकाशित: २ कार्तिक २०७८ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App