४ वैशाख २०८१ मंगलबार
समाज

कर्णाली नदीको बाढीले दुई सय घर डुबानमा, सतर्क रहन प्रशासनको आग्रह

कर्णाली नदीको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको दुई सय घर धुरी डुबानमा परेका छन्। राजापुर नगरपालिकाको तिग्रा, चनौरा र गेरुवा गाउँपालिकाको पाताभारमा डुबान भएको हो।

कर्णाली नदीमा पानीको सतह बढेर राजापुर नगरपालिका–१ टिउनीघाट स्थितबाट बस्तीमा पसेको छ। कर्णाली नदीको बाढीले राजापुर क्षेत्रमा घर डुबानमा पर्नुका साथै शान्ति बजार जाने सडक अवरुद्ध भएको छ। त्यसैगरी सनकट्टी घाटबाट कर्णाली नदीको पानी पसेर पाताभारमा डुबान भएको छ।

गत आइतबारदेखि परेको अबिरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेको छ। कर्णाली नदीको जलस्तर खतरा तह १०.८ मिटर पार गरी ११.९० मिटरभन्दा माथि पुगिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कर्णाली नदीमा जलस्तर बढ्दो क्रममा छ।

तटीय क्षेत्रका गाउँबस्तीका बासिन्दालाई सतर्क रहन राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले आग्रह गरेका छन्। कर्णाली नदीमा पानीको बहाव बढेकोले नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने र माछा मार्नेजस्ता गतिविधि नगर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ।

प्रकाशित: २ कार्तिक २०७८ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App