८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रपति आउने भएपछि सडक सरसफाइ

कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि भक्तपुरमा सडक सरसफाइ गरिएको छ।  

जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा आज अरनिको राजमार्ग सडकखण्डअन्तर्गत तीनकुने सल्लाघारीदेखि सूर्यविनायक हुदैँ जगातीसम्मको सडक सरसफाइ गरिएको हो।  

नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर नगरपालिका र नेप्से म्याकको सहभागितामा सडक सरसफाइ गरिएको बताइएको छ। सरसफाइमा सङ्कलन गरिएका फोहर भक्तपुर नगरपालिका र नेप्से म्याकको गाडीमा राखेर लगिएको थियो।

सफाइ गर्ने क्रममा सल्लाघारीको सूर्य कोल्ड स्टोरले पसल अगाडि सडकमा फालेको फोहर नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उठायो। रेडक्रस सोसाइटी भक्तपुरका संयोजक कृष्णगोपाल लागेजूले फोहर उठाउँदै सडकमा फोहर नफाल्न आग्रह गरे। रेडक्रस जिल्ला सदस्य रामेश्वर थापाले व्यवसाय गर्ने, अनि फोहर सडकमा फाल्ने र सफाइ गर्न आउने अभियन्तालाई सहयोग नगरी उल्टै टुलुटुलु हेर्ने प्रवृत्ति नै खराब रहेको बताए।  

विभिन्न व्यवसाय गर्ने व्यसवायीले नै सडकमा अधिकांश फोहर फाल्ने गरेको स्थानीयवासी बताउँछन्। सडकमा फोहर फाल्नु हुन्न भन्ने जानकारी हुँदाहुँदै पनि फाल्नेलाई कारबाही गर्ने नीति स्थानीय प्रशासन र सरकारले लिनुपर्ने सफाइ अभियन्ता बताउँछन्।

प्रकाशित: २ कार्तिक २०७८ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App