coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काल बन्दै ‘जत्काल’

सुदूरपश्चिममा गत आर्थिक वर्ष मा २३ जना सुत्केरी तथा गर्भवतीको अकालमै ज्यान गुम्यो

गौरीगंगा नगरपालिका–९ शंकरपुरकी २३ वर्षीया कमला धामीको सुत्केरी अवस्थामा सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भयो। असोज २९ गते शल्यक्रिया गरेर जुम्ल्याहा शिशु निकालिएको थियो। शल्यक्रियापछि सामान्य अवस्थामा रहेकी उनलाई एक्कासि बेहोस भएर आइसियुमा राखिएको थियो। आइसियुमै रहेको अवस्थामा उनको मृत्यु भएको कमलाका जेठाजू रमेश धामीले बताए।

यस्तै, २० दिनअघि अर्थात् असोज १० गते धनगढीको नवजीवन अस्पतालमा सुत्केरी कल्पना सिंह मल्लको मृत्यु भएको थियो। डोटीको शिखर नगरपालिकाका–६ घर भएकी २६ वर्षीया कल्पनाको पनि सुरक्षित सुत्केरी गराउँदै गर्दा अस्पतालमै मृत्यु भएको हो।  

गर्भवती भएदेखि कल्पना मातृशिशु कार्यक्रम लागू भएको नवजीवन अस्पतालका डाक्टरको परामर्शमै थिइन्। नियमित गर्भ जाँच गराउँदै आएकी उनको सुत्केरी भइसकेपछि मृत्यु भएको हो।

कमला र कल्पना प्रतिनिधि पात्र मात्रै हुन्। सुदूरपश्चिममा बर्सेनि सुत्केरी तथा गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको छ। सरकारले सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम लागु गरे पनि सुदूरपश्चिममा गर्भवती र सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनु परिरहेको तथ्यांक छ।  

सुदूरपश्चिम प्रदेशमा प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आव २०७५/७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६/७७ मा बढेर १९ पुगेको छ। आव २०७६/७७ भन्दा ४ जना बढी सुत्केरीले २०७७/७८ मा ज्यान गुमाएका छन्। २०७७/७८ मा २३ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाए थिए।

 ‘प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा हरेक वर्ष गर्भवती तथा सुत्केरी महिलाले ज्यान गुमाएको संख्या बढ्दो छ,’ सुरक्षित मातृत्वसम्बन्धी काम गर्ने गैर सरकारी संस्था सोर्स नेपाल डोटीका कार्यकारी निर्देशक लालबहादुर बिकले भने, ‘प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल डोटीको तथ्यांक हेर्दा हरेक वर्ष सुत्केरीको मृत्यु हुने क्रम बढ्दो छ, यो डरलाग्दो अवस्था हो।’

तथ्यांकअनुसार सबैभन्दा बढी कैलालीमा गर्भवती तथा सुत्केरी महिलाको मृत्यु भएको छ। कैलालीमा २०७५/७६ मा ५ जनाको मृत्यु भएको थियो भने त्यो संख्या २०७६/७७ मा आएर २ जनाले बढेर ७ जना पुग्यो। यस्तै आव २०७७/७८ मा बढेर १० जना पुग्यो। कैलालीमा गत आवमा मात्रै १० जना सुत्केरी महिलाले अकालमै ज्यान गुमाएका थिए।  

त्यस्तै गत आवमा कञ्चनपुर र बैतडीमा ३/३ जना सुत्केरी महिलाले ज्यान गुमाएका थिए। बझाङ र डडेल्धुरामा २ जना, बाजुरा, डोटी र अछाममा १/१ जना सुत्केरी महिलाले ज्यान गुमाएका थिए। तर, दार्चुलामा भने एक जनाले पनि ज्यान गुमाउनु परेन।

सुदूरपश्चिममा बच्चा पाउनुलाई ‘जत्काल’ भनिन्छ। ‘जत् भनेको जतनका साथ रहनु र काल भनेको मृत्यु’ भनेर व्याख्या गरिन्छ। जतनका साथ काललाई जित्नु नै ‘जत्काल’ बस्नु भनिएको बताउँदै उनले भने, ‘बच्चा पाउँदाको अवस्थामा प्रस्रव पीडाबाट उन्मुक्ति पाउनुलाई ‘जत्काल’ बस्नु भनिने गरेको हो।’ त्यही ‘जत्काल’ बस्दै गर्दा सुदूरपश्चिमका महिला कालको मुखमा पुग्ने गरेको उनले बताए।

रसुदूरपश्चिममा गर्भवती महिलाले नियमित गर्भ चेकजाँच नगर्नु, घरमै सुत्केरी गराउने प्रयास गर्नुले पनि सुत्केरी महिलाको मृत्युदर बढेको भन्दै सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष विनय लामाले भने, ‘सुदूरपश्चिममा अलग्गै प्रसूति अस्पताल नहुँदा पनि गर्भवती तथा सुत्केरी महिलाले विशेषज्ञ सेवा नपाएरै मृत्युवरण गर्नु परेको अवस्था छ।’ सुत्केरी गराउँदै गर्दा अत्यधिक रक्तस्राव भएपछि समयमै रगत नपाउँदा पनि सुत्केरीले अकालमै ज्यान गुमाउनु परिरहेको उनले बताए।

प्रकाशित: २ कार्तिक २०७८ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App