coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१० दिनमा २१ दुर्घटना ३७ जनाको मृत्यु, ६४ घाइते

मुगुको छायानाथ रारा नगरपालिका–८ का सन्तोष विटालु २ वर्षपछि घर फर्कंदै थिए। ऋण र सापटी लगेर उनले छोरोलाई बिएस्सीएजी पढाएका थिए। दसैंको अवसर पारेर छोरो बिएस्सीएजी उत्तीर्ण भएको उपलक्ष्यमा गाउँलेलाई भोज खुवाउने तयारी कुशलालले गरेका थिए। घर पुग्नै लाग्दा सन्तोष चढेको बस पिनातपने खोलामा गत असोज २६ गते दुर्घटना भयो। ३२ जनाले ज्यान गुमाउँदा उनी पनि परे।  

अमृता शाही नेपालगञ्जबाट भाइ महेन्द्र र छोरा आयुषसँगै दसैं मनाउन माइती गाउँ टोप्ला जाँदै थिइन्। बहिनी, भाइ र भान्जा आउने भएपछि मिनबहादुरले दसैंको तयारी थालेका थिए। घर नपुग्दै तीनै जनाको दुर्घटनामा मृत्यु भयो। ‘बहिनी, भाइ र भान्जा आउने खुसियालीमा दसैंको तयारी धुमधामले गरिरहेका थियौं,’ मिनबहादुरले भने, ‘दसैंको खुसी साट्न नपाउँदै दैवले परिवार लग्यो।’ मुगुका प्रमुख जिल्ला अधिकारी रोम महतका अनुसार बाँकेको नेपालगञ्जदेखि मुगु सदरमुकाम गमगढी आउँदै गरेको छायानाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नम्बरको बस दसैंको फुलपातीका दिन मंगलबार नाग्म–गमगढी सडकखण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो।

‘३२ जनामध्ये २५ जना छायानाथ रारा नगरपालिकाका हुन्,’ प्रजिअ महतले भने, ‘दसैंको मुखैमा भएको दुर्घटनाले ठूलो मानवीय क्षति हुँदा सिंगो जिल्ला शोकमा डुबेको छ।’ दुर्घटनामा घाइते भएका १४ मध्ये नौ जनाको कोहलपुर मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रजिअ महतले मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज जानका लागि रन–वेमा गुड्दै गरेको जहाज रोकेर घाइतेलाई तत्काल उपचारका लागि नेपालगञ्ज पठाएका थिए।  

साँघुरो बाटोले जोखिम

जुम्लाको नाग्मदेखि मुगुको गमगढीसम्मको सडकको दुरी ९२ किलोमिटर हो। यो सडक सञ्चालनमा आएको १० वर्ष पुग्न लाग्यो। सडक साँघुरो भएकाले सुरुमा ट्याक्टर र साना गाडी मात्रै सडकमा गुड्थे। रारा जाने बाटो भएकाले सडकमा यात्रुहरूको कमी हुँदैन। 

त्यसैले पछिल्ला पाँच वर्षदेखि सडक चौडा नबनाएरै ठूला सवारीसाधन सञ्चालन गर्न थालिएको छ। ‘साँघुरो सडक र पुराना सवारीसाधन नै दुर्घटनाको प्रमुख कारण हो,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठले भने, ‘फराकिलो सडक भइदिएको भए मुगुमा नाग्म–गमगढी सडकमा एकै पटक यति धेरैले ज्यान गुमाउनुपर्ने थिएन।’

२०६९ पुस १ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए। कर्णालीकै प्रमुख पर्यटकीय क्षेत्र रारा जाने सडक भए पनि यसको विस्तार र मर्मतमा प्रदेश र संघीय सरकारले कुनै चासो देखाएका छैनन्।

छानबिन समिति गठन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य छन्। समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ। 

चालकको सिटमुनिको टायर पन्चर भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने प्रहरी नायब महानिरीक्षक ऐरले बताए।

यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटना भए। यी दुर्घटनामा तीन जनाले ज्यान गुमाए भने २२ जना घाइते भए। असोज ३१ गते दैलेखको बेस्तडाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको मिनीबस लादेमा दुर्घटना भएको थियो। 

दुर्घटनामा नारायण नगरपालिका–११ का सुशील रावत र भगवतीमाई गाउँपालिका–१ की ३४ वर्षीया शान्ता थापा आचार्यको मृत्यु भएको थियो। मृतकका आफन्तले शव बुझ्न मानेका छैनन्। आफन्तले सोमबार दैलेख सडकखण्डको वीरेन्द्रनगर नगरपालिका–७ कपासेमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। मृतकका आफन्तले चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेका हुन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार रुकुम पश्चिम र जुम्लामा भएका सवारी दुर्घटनामा एक–एक जनाको मृत्यु भएको छ। रुकुममा तीनजना घाइते भएका छन्। दैलेखमा चारवटा सवारी दुर्घटना हुँदा सात जना, सल्यानमा दुई वटा सवारी दुर्घटना हुँदा १६ जना, जाजरकोटमा एउटा सवारी दुर्घटना हुँदा दुई जना र कालिकोटमा एउटा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएको उनले बताए।

प्रकाशित: २ कार्तिक २०७८ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App