८ वैशाख २०८१ शनिबार
समाज

न्याय माग्दा हथकडी

न्यायका लागि धर्ना बसेकी अधिकारकर्मी रुवी खानलाई उपचारका लागि अस्पताल लैजाँदै । तस्बिरः रुवी खानको फेसबुक

महिला अधिकारकर्मी र मृतक नन्कुन्नी धोबीका परिवार जिल्ला प्रशासन कार्यालयमा १९ दिनसम्म न्यायका लागि धर्ना बसे। शान्तिपूर्ण आन्दोलनलाई प्रहरी प्रशासनले सम्बोधन नगरेपछि धर्नाकारी लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालय बुटवलसम्म पुगे। तीन दिन धर्ना बस्दा पनि प्रदेश सरकारले न्याय दिने चासो देखाएन। अन्ततः न्यायका लागि उनीहरू संघीय राजधानी काठमाडौं पुग्नैपर्ने बाध्यता आयो।

असोज २२ गतेदेखि उनीहरू संघीय राजधानी काठमाडौंस्थित माइतीघर मण्डलामा धर्नामा बसे। जिल्ला तथा प्रदेशमा न्याय दिलाउन नसके पनि केन्द्र सरकारले न्याय दिने आशाले काठमाडौंसम्म पुगेर धर्ना बसेकी महिला अधिकारकर्मी रुवी खानलाई नै उल्टै हथकडी लगाइयो। 

उनलाई माइतीघर मण्डलामा धर्ना बस्दा सरकारको ध्यान केन्द्रित हुने र न्याय पाउने आशा थियो तर न्याय माग्दा जेल जानुपर्छ भन्ने थाहा थिएन। नेपालगन्जबाट १९ दिन हिँडेर काठमाडौं पुगी धर्नामा बसेकी खानलाई प्रहरीले उपचार गर्न लैजाने भन्दै झुक्याएर पक्राउ गरेको थियो। ‘काठमाडौंमा हामी असोज २१ गतेदेखि धर्ना बसेका थियौं,’ महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकिना टेलीले भनिन्, ‘एक्कासि आएर खानजी हजुरको उपचार गर्नुपर्‍यो, जाऊँ भन्दै प्रहरीले गाडीमा हाल्यो।’ महिला अधिकार मञ्च बाँकेको अध्यक्षसमेत रहेकी खानलाई उपचारका बहानामा प्रहरीले पक्राउ गरेको धर्नामा बसेका सहयात्रीले पछि मात्र थाहा पाए।

बहुविवाहको आरोपमा खानलाई पक्राउ गरेको प्रहरीले सर्वाेच्च अदालतको आदेशपछि रिहा गरेको थियो। रिहा भएपछि न्यायका लागि आवाज उठाइरहेकी खान नेपालगन्जबाट सीधै काठमाडौंस्थित धर्नास्थल पुगेकी थिइन्। प्रहरीको हिरासतभित्रै आमरण अनशन बसेकी खानको स्वास्थ्यमा समस्या आएपछि अहिले उपचारका लागि अस्पताल भर्ना गरिएको छ। 

त्यहाँ पनि उनले अनशन कायमै राखेकी छन्। ‘अहिले उहाँ (रूबी) बोल्न सक्ने स्थितिमा हुनुहुन्न,’ महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य टेलीले भनिन्, ‘उहाँको स्वास्थ्यस्थिति बिग्रिँदै गएको छ।’  न्याय माग्दा प्रहरी हिरासतमा बस्नपर्नु दुःखद भएको बताउँदै उनले थपिन्, ‘हामीलाई न्यायको आशा थियो।  

हिरासत बस्ने कल्पनासमेत गरेका थिएनौं।’ अब न्याय नपाएसम्म नेपालगन्ज नफर्किने उनले बताइन्। बाँके प्रहरीले झुटो मुद्दा लगाएर खानलाई पक्राउ गरेको उनको भनाइ छ।

‘प्रहरीले घटनाको सूक्ष्म अध्ययन नगरी उल्टै शान्तिपूर्ण आन्दोलन दबाउन अनेक बहाना गर्‍यो,’ उनी भन्छिन्, ‘प्रहरीले घटनामा निष्पक्षता देखाएन।’ उनका अनुसार खान पक्राउका लागि भदौ २५ गते पक्राउ पुर्जी जारी गरिएको थियो। ‘भदौ २५ गते पुर्जी जारी गरेको प्रहरीले प्रशासनअगाडि नै धर्ना बस्दा वा मुख्यमन्त्री कार्यालय बुटवलमा धर्ना बस्दा किन पक्राउ गरेन’, प्रश्न गर्दै उनले भनिन्, ‘प्रहरीले सीधै हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कमजोर गराउन षड्यन्त्रपूर्वक काठमाडौंबाट पक्राउ गर्‍यो।’ आन्दोलनको नेतृत्वकर्तालाई पक्राउ गरेपछि आन्दोलन दबाउने प्रहरीको मनसाय भए पनि त्यो पूरा नभएको उनको भनाइ छ।

जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबी र परस्पर गाउँकी एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित परिवार र महिला अधिकारकर्मी न्यायका लागि काठमाडौं पुगेका थिए। 

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई तुरून्त पक्राउ गरी कारबाही गर्न र महिला अधिकारकर्मीलाई अपमानित गर्ने तथा झुटो मुद्दामा फसाउने बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाहीको माग उनीहरूले राखेका छन्।

साउन ५ गते राति घरमै धोबी झुन्डिएको अवस्थामा भेटिएको उनका भाई माधवप्रसाद धोबीले बताए। ‘झुन्डिएको अवस्थामा रहेकी दिदीको नाक, कानबाट रगत बगिरहेको थियो,’ उनले भने, ‘शरीरभरि निलडामसमेत देखिएको थियो।’ मृतकका परिवारले नन्कुन्नीको आत्महत्या नभई उनका श्रीमान् रामकुमार धोबीलगायतले मारेर झुन्ड्याएको बताउँदै आएका छन्। 

अर्की एकल महिला निर्मला कुर्मीका नाममा रहेको सम्पत्ति लिनलाई उनको पनि परिवारका सदस्यहरूले हत्या गरेको महिला अधिकार मञ्चकी बाँके इन्चार्ज रूबी खानले बनाइन्। ‘निर्मलाको नाममा २५/३० करोडको चलअचल सम्पत्ति छ,’ नेपालगन्जबाट काठमाडौं पैदल यात्रा निस्किँदा नागरिकसँग उनले भनिन्, ‘त्यही सम्पत्तिको लोभमा आफन्तले अपहरण, शरीर बन्धक गरी कर्तव्य ज्यान लिएका हुन्।’

यता प्रहरीले भने नन्कुन्नीको मेडिकल रिपोर्टमै आत्महत्या गरेको स्पष्ट खुलाएको बताएको छ। निर्मला भने सम्पर्कविहीन भएकाले उनको अवस्था भन्न नसकिने प्रहरीको भनाइ छ। 

मृतक नन्कुन्नी धोबीको हत्यामा जोडिएका भनिएका दुईजनालाई पक्राउ गरे पनि दुईजनालाई राजनीतिक संरक्षणमा पक्राउ नगरिएको धर्ना बसेकाहरूको भनाइ छ। हिंसाको घटनामा अनुसन्धान नगरेर आफ्नै कार्यक्षमतामाथि प्रश्न उठेपछि विषय अन्यत्र मोड्न बाँके प्रहरी प्रमुख (एसपी) अधिकारीले खानलाई फर्जी मुद्दामा फसाउन खोजेको पीडित परिवारको भनाइ छ।

गृहको टोली र पीडित पक्षबीच अनौपचारिक वार्ता

न्यायका लागि काठमाडौंस्थित माइतीघर मण्डलामा धर्नारत पीडित परिवार र गृह मन्त्रालयको टोलीबीच अनौपचारिक वार्ता भएको छ। गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको टोली सोमबार बिहान धर्ना टोलीको बासस्थान माइती नेपाल पुगेको थियो। 

धर्ना बसेकाहरूसँग अनौपचारिक छलफल भएको पोखरेलले बताए। ‘धर्ना बसेकाहरूको माग सम्बोधन गर्ने विषयमा छलफल भयो,’ उनले भने, ‘उहाँहरूले छलफल गरेर खबर गर्छाैं भन्नुभएको छ।’ पीडित परिवारबाट समेत एकजना सहभागी हुने गरी छानबिन समिति बनाउने प्रस्ताव गृह मन्त्रालयको टोलीले गरेको महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य सकिना टेलीले बताइन्। ‘हामी बसेकै स्थानमा पुगेर गृह मन्त्रालयको टोलीले एउटा प्रस्ताव गरेका छ,’ उनले भनिन्, ‘तर उक्त कुरा मौखिक हो। लिखित भएको छैन।’

प्रकाशित: २ कार्तिक २०७८ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App