८ वैशाख २०८१ शनिबार
समाज

आरक्ष क्षेत्रमा हात्ती जोगाउने मुख्य चुनौती

क्याप्शन

असोज १७ गते बिहान कोशी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा रैथाने मकुना हात्ती करेन्ट लागेर मरेको अवस्थामा भेटियो। सुनसरी कोशी गाउँपालिका वडा नं. ३ की अमलदेवी सरदारको धान खेतमा मकुना हात्ती मृत अवस्थामा भेटिएको थियो।

धानखेतमा मकुना हात्ती करेन्ट लागेर मरेपछि अहिले अनुसन्धान चलिरहेको छ। आरक्षका संरक्षण अधिकृत वार्डेन अशोक रामका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा करेन्ट लगाएर हात्ती मारेको खुलेको छ।

अघिल्लो वर्षको पुस अन्तिममा सप्तरीमा आरक्ष क्षेत्रकै एउटा हात्ती मृत अवस्थामा भेटिएको थियो। झण्डै २२ वर्षको जवान भाले दाह्रे हात्तीलाई स्थानीय गाउँलेले बाली जोगाउन लगाएको बिजुलीको करेन्ट लागेर हात्तीको मृत्यु भएको थियो।

अघिल्लो वर्षको मंसिर ६ गते राति पनि बिजुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा अर्को जंगली हात्तीको मृत्यु भएको थियो। आरक्ष तथा आसपासका क्षेत्रमा निरन्तर रुपमा जंगली हात्तीको समूहले मानव वस्तीमा प्रवेश गर्ने गरेकोमा कञ्चनरुप वडा नं. ५ मा बिजुलीको पोल लडाएर तार लत्रिएर जेलिँदा बुढो दाह्रे हात्तीको मृत्यु भएको थियो।

यसरी कोशी टप्पु तथा आसपासका क्षेत्रका जंगली हात्ती श्रृखलाबद्ध रुपमा मर्ने क्रम बढ्दो छ। २०६७ साल ताका कोशी टप्पु तथा आसपासका क्षेत्रमा देखिएका १३ वटा हात्ती अहिले सबै मरिसकेका छन्। मृत्यु भएका हात्तीमध्ये एउटा सप्तकोशीको दलदलमा भासिएर मरेको हो भने अन्य दुईवटा गोली लागेर मरेका हुन्।

यस्तै, सातवटा करेन्ट लागेर र चारवटा प्राकृतिक कारणले गर्दा मृत्यु भएको आरक्षका वार्डेन रामले जनाए। सुरुवातमा कोशी टप्पु तथा आरक्ष आसपासका क्षेत्रमा आएका हात्तीबाटै संख्या वृद्धि भएका र अन्यत्रबाट पछि थप भएका अहिलेपनि १६ वटा हात्ती रहेका छन्। यी हात्तीमध्ये दाह्रे हात्तीले कुनै पनि बेला वस्तीमा प्रवेश गरेर क्षति गर्ने खतरा छ।

कोशी टप्पु क्षेत्रबाहेक नेपालभर दस वर्षयता ४० वटा हात्ती मरिसकेका छन्। यही गतिमा हात्ती मर्ने हो भने संरक्षणका लागि निकै नै समस्या हुने देखिएकाे छ।

मध्यवर्ती क्षेत्रका किसानले धान, मकै, उखु र केरा खेती लगाउने गरेका छन्। यी चारैवटा बाली हात्तीका लागि रुचीको आहरामा पर्छन्। जसले गर्दा किसानले जंगली हात्तीलाई निसाना बनाउने गरेका छन्।

‘विशेष योजना नल्याउने हो भने कोशी टप्पु तथा आसपासका क्षेत्रका जंगली हात्तीलाई जोगाउन निकै समस्या छ,’ वार्डेन समेत रहेका हात्ती विज्ञ रामले भने, ‘आफूले लगाएको बाली नोक्सान गरेको प्रतिशोध स्थानीयले हात्तीमाथि साध्ने हुँदा मार्ने क्रम बढेको हो।’ कोशी टप्पु आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जीवनयापन कृषिले धानेको छ।

आरक्ष क्षेत्र जंगलबीचमा भए कुनै समस्या आउने थिएन। चितवान र बर्दिया राष्ट्रिय निकुञ्ज जंगलबीचमै छन्। कोशी टप्पु आरक्ष भने बस्ती बीचमा छ। अझ हात्तीको हिँड्ने चारकोसे रुट आसपास अहिले ठूल्ठूला बस्ती बसेकाले गर्दा पनि समस्या हुँदै गएको वार्डेन रामले जनाए।

सुनसरी, सप्तरी र उदयपुर गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्षमा हात्तीलाई गाउँ प्रवेश गर्नबाट रोक्नका निम्ति सुनसरीको बस्तीतर्फ विद्युतीय घेराबेरा गरिएपनि सप्तरी र उदयपुर क्षेत्रमा भने बाँकी छ।

कोशी पूर्वको सुनसरीतर्फ २५ किलोमिटर विद्युतीय घेराबेरा भइसकेको छ। नेपालमा कुल २०० देखि २२५ वटा जंगली हात्ती छन्।

प्रकाशित: १ कार्तिक २०७८ १३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App