२० मंसिर २०७८ सोमबार
समाज

जङ्गली हात्तीका बथानले धानबालीमा क्षति

फाइल तस्बिर

जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पुर्‍याएको छ। 

चुरे क्षेत्रबाट  बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान खाएर क्षति पुर्‍याएको हो।' दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौं' स्थानीय किसान राजकुमार चौधरीले भने, 'हात्तीका बथानले पूरै धानका बाला खाएको छ। निकै नोक्सानी भयो।'

उनकाअनुसार खेतमा उत्पादन भएको धानले पूरै परिवारका लागि वर्षभर खान पुग्थ्यो। हात्तीले सबै खाएकाले धान खरिद गरेर परिवार पाल्नुपर्ने भएको छ। छदेखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्‍याएको छ।

यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धानबालीसँगै मनोज बिष्टको केरा बारी, सिद्धभीम आर्दश आधारभूत विद्यालयको घेरवारका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत क्षति पुर्‍याएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए।

'तरकारी बालीमा हात्तीको बथानले नोक्सानी गरेको खबर किसानले गरेका छन्' उनले भने, 'अनुगमनका लागि जाँदैछौँ। के कति क्षति भयो अनुगमन पछि थाहा हुन्छ।' धान खाए पछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाको भनाइ छ।

प्रकाशित: १ कार्तिक २०७८ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App