१२ मंसिर २०७८ आइतबार
समाज

नसर्ने रोगबाट बच्न जमरा फलदायी

बडा दसैंलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन्। दसैंको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ।

पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ। यसरी उमारेको जमरा विजयादशीको दिन टिकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ। देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टिकासहित ग्रहण गर्ने गरिन्छ। 

दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ। शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ।

यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ। जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ। यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन्। 

जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो। अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ।

जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ। शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ।


पहिलोपटक खेती गरिएको अन्नबाली जौलाई मानिन्छ। गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ। जौको सातु एकदमै रुचाइन्छ। बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ। पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ।

प्रकाशित: १ कार्तिक २०७८ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App