coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा ७ प्रतिशत धानको उत्पादन बढ्ने

पर्याप्त वर्षा र मलखादको सहज आपूर्तिका कारण कपिलवस्तुमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। मौसम अनुकूलताका कारण यस वर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुले अनुमान गरेको हो।

यो वर्ष मनसुन समयमै आएको र प्रशस्त पानी परेकाले खाद्यान्न भकारीका रूपमा चिनिएको कपिलवस्तुमा धान उत्पादन ५ देखि ७ प्रतिशतले बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले बताए। यस वर्ष जिल्लामा ७१ हजार ५ सय हेक्टरमा खेती गरिएको छ। 

जसबाट २ लाख ८५ हजार ५८३ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। गत वर्ष ७१ हजार २ सय हेक्टरमा गरिएको धान खेतीबाट २ लाख ७१ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको थियो। ‘चाहिने जति पानी परेको, रसायनिक मलको उपलब्धता पनि ठीकै रहेको तथा रोग र कीराको प्रकोप पनि देखिएको छैन’ प्रमुख चौबेले भने, ‘त्यसैले कपिलवस्तुमा धान उत्पादनमा वृद्धि हुने देखिएको हो।’ 

चाँडै पाक्ने धान काटने चटारोमा रहेका कृषकहरूलाई आइताबार परेको बेमौसमी वर्षाले भने समस्या परेको बताउँछन्। बैमौसमी र त्यससंग आएको हावाहुरीले चाँडै पाक्ने जातको धान खेतमै ढलाउँदा केही क्षति भएको कृषकहरू बताउँछन।‘अहिलेसम्म कृषकहरू धान उत्पादन राम्रो भएकोमा खुशी देखिन्थे तर आइतबारको बेमौसमी वर्षाले कृषकहरू समस्यामा परेका छन् ’ कृषक संघका जिल्ला अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले भने। समममै वर्षा र मलखादको उपलब्धताले यस कपिलवस्तुमा धान उत्पादन राम्रो भएको उनले बताए। 

जिल्लाको कुल खेतीयोग्य जमीन करीब ८३ हजार हेक्टर रहेको छ, जसमध्ये यो वर्ष ७१, हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। जिल्लामा करीब ५५ प्रतिशत क्षेत्रफलमा हाइब्रिड जातका र ४५ प्रतिशत क्षेत्रफलमा उन्नत जातका धानको खेती गरिन्छ। 

खेती गरिने उन्नत जातमा मुख्य रूपले राधा–४, साँभा मसुली, सावित्री, रामधान, गोल्डेन मसुली रहेका छन् भने हाइब्रिड धानमा ६४४४, सम्पूर्णा, गोरखनाथ लगायतका धानको खेती हुने गरेको छ। यसबाहेक कपिलवस्तु जिल्लाको पहिचानको रूपमा रहेको मसिना तथा वासनादार धानको रूपमा कालानमक तथा बासमतीको खेती हुने गरेको कुरा कृषि ज्ञान केन्द्र, कपिलवस्तुले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७८ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App