८ वैशाख २०८१ शनिबार
समाज

पाटेबाघलाई पछ्याउँदै बितिरहेको माउतेको जीन्दगी

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा रहेका हात्ती र माउते । तस्बिर : अर्जुन/नागरिक

ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बर्दिया, निवासी दिनेश चौधरीसहित ६ जना माउते विगत एक महिनादेखी राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभर गाउँमा बसिरहेका छन्। दुई वटा घरपालुवा हात्ती उनीहरुका सारथी हुन्।

एक महिनाअघि गाभरमा पाटेबाघले मान्छे र स्थानीय बासिन्दाको पशु चौपाया धमाधम मार्न थालेपछि बाघको निगरानी बढाउन तथा गाउँको सुरक्षाका लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले हात्तीसहित माउतेलाई छाडेको हो।

स्थानीय नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको चउरमा हात्ती र माउतेको बसोबास छ। बिहान १० बजे हात्तीलाई फुकाएर जंगलतिर लैजाने र अपरान्ह साढे ४ बजेतिर फर्काएर पुनः बसिरहेकै ठाउँमा ल्याउने माउतेको दैनिकी हो। विद्यालयको सानो छाप्रोमा बसिरहेका उनीहरुलाई दसैँको कुनै उमंग नै छैन। मात्र, उनीहरुको ध्यान छ, ‘पाटेबाघको निगरानी’। बरु उनीहरु आफ्नो ज्यान भन्दा गाभरका स्थानीयहरुको सुरक्षामा चिन्तित छन्।

माउतेहरु हात्ती लिएर जाँदा जंगलमा प्रायः पाटेबाघहरु देख्छन् र जंगलमा बाघ देखेपछि माउतेले स्थानीय बासिन्दालाई जंगलतिर नजान आग्रह गर्छन्। केही दिनअघि मात्र बाघले घेरिएपछि रुखमा चढेका तीन जना स्थानीयलाई यिनै हात्तीको मद्धतले माउतेले बचाएका थिए।

हात्तीका माउतेहरु जता–जता बाघ देखिन्छ, त्यतैतिर हात्ती लिएर जाने गर्छन्। ‘सबैलाई आफ्नो ज्यानको माया हुन्छ, हात्ती बाघसँग डराउँछ, बाघ पनि हात्तीसँग डराउँछ,’ माउते दिनेशले नागरिकसँग भने, ‘हामीले बाघ देखियो भने कन्ट्रोल गर्छौ, हात्तीलाई रोकेर बस्छौं अनि बाघलाई लखेट्दै पर धपाउँछौं।’ यसपालीको दसैँ आफूहरुले हात्तीसँगै गाभरमा मनाउने उनले सुनाए।

प्रकाशित: २९ आश्विन २०७८ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App