४ वैशाख २०८१ मंगलबार
समाज

पूजापाठ गरी मनाइँदै दसैं

पहाडको भन्दा फरक तरिकाले तराई मधेसमा मनाइने दसैं पूजापाठ गरेर मनाइँदै छ। घटस्थापनादेखि महानवमीसम्म पूजापाठ गरी मनाइने दसैंको दशमीको दिन मेला लाग्ने चलन रहेको छ।

रौतहटको सबै ठूला तथा साना चोक र बजारमा देवीको प्रतिमा स्थापना गरी र पुराना शक्तिपीठहरुमा पूजापाठ गरी दसैं मनाइँदै छ। शक्तिपीठ तथा प्रतिमा स्थापना गरिएका ठाउँमा दिन र रात पाठ गरिने गरिएको छ भने कतिपयले आफ्नो घरमा पनि घटस्थापना गरी दैनिक पाठका साथै बिहान र बेलुका पूजा गरी दसैं मनाइरहेका छन्।

जिल्ला भर पचासौँ स्थानमा प्रतिमा स्थापना गरी भइरहेको पूजापाठ र आरतीमा दैनिक सयौँ मानिसको सहभागिता रहेको छ। जिल्लाका हजारौँ मानिस नवरात्रा व्रत बसेका छन्। व्रत बसेकाहरुले महानवमीको पूजा गरेर व्रत समाप्त गरेपछि मात्र अन्न खाने गर्दछन्। घटस्थापनादेखि महानवमीसम्म व्रतालुहरुले फलफूल सेवन गरेर मात्र बस्ने चलन छ। नौ दिनसम्म कठोर व्रत गर्नेहरुले पनि पूजापाठमा दिनरात संलग्न हुने गरेका छन्। घटस्थापनाको दिनदेखि महानवमीसम्म तराई मधेसका अधिकांश हिन्दू घरपरिवारमा मासु नखाने चलन रहेको छ। नवरात्रा व्रत बस्ने परिवारमा माछा, मासु, अन्डासमेत नखाने चलन रहेको छ।  

अरु व्रत मुख्य गरी महिलाहरुले गर्ने गरेको भए पनि नवरात्रा भने महिला र पुरुष दुवैले गर्ने गरेका छन्। कतिपयले भाकल पूरा भएपछि नवरात्रा गर्ने गर्दछन् भने कतिपयले स्वास्थ्य र साधनाको कारणले पनि नवरात्रा व्रत बस्ने गर्दछन्। नवरात्रा बस्ने महिला र पुरुषले सम्भव भएसम्म अरुको भान्छाको केही पनि खान नहुने चलन रहेको छ।

तराई मधेसका हरेक जसो गाउँमा ब्रह्म र भगवतीको मन्दिर हुने गर्दछन्। हरेक बिहान र साँझ ब्रह्म–भगवतीको मन्दिरमा मानिसहरुको घुइँचो लाग्ने गरेको छ। कतिपय गाउँमा दसैंको महानवमीकै दिन भगवतीको सार्वजनिक पूजा गर्ने चलन पनि रहेको छ।  

गत वर्ष कोरोनाको कारणले पूजापाठमा केही प्रभाव पारेको देखिएको थियो तर यस वर्ष भने सबैतिर हर्ष र उल्लासको वातावरण देखिएको छ। महानवमी तथा विजयादशमीको दिन तराई मधेसमा लाग्ने मेलाको सबैतिर भव्य तयारी भएको देखिएको छ।

प्रकाशित: २७ आश्विन २०७८ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App