coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्धनग्न नृत्य गराउनेलाई कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी

मेला, संस्कृति तथा मनोरञ्जनको नाममा अर्धनग्न नृत्य गराउनेलाई कारबाहीको दायरामा ल्याउने रौतहट प्रहरी प्रमुख एसपि विनोद घिमिरेले चेतावनी दिएका छन्। चाडपर्वमा गरिएको सुरक्षा योजनाबारे जानकारी गराउँदै एसपि घिमिरेले समाजमा विकृति फैलाउने तथा होहल्ला गराउने किसिमका अश्लील अर्धनग्न नृत्य गराउने जोसुकैलाई कारबाहीको दायरामा ल्याइने भएकोले यस्ता नृत्य गराउने पक्षलाई सचेत गराएका हुन्।  

भारत र नेपालकै विभिन्न ठाउँबाट नृत्य गर्ने महिला बोलाएर अश्लील गीतमा अर्धनग्न नृत्य गराउने परिपाटी रहेको सुनिएकोले मेला, संस्कृति तथा मनोरञ्जनको नाममा यस्तो गतिविधि नगर्न नगराउन एसपि घिमिरेले सचेत गराएका छन्। मेला, नाच, कुस्ती तथा अन्य कुनै समारोह गर्दा पनि आयोजकले स्थानीय प्रशासनसित स्वीकृति लिनुपर्ने प्रावधान रहेको एसपि घिमिरेको भनाइ छ।  

चाडपर्वको समयमा चोरी, डकैती, लुटपाट र अन्य आपराधिक गतिविधि हुन नदिन रौतहट प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ। दशैँ, तिहार तथा छठको समयमा कुनै आपराधिक गतिविधि हुन नदिन प्रहरी क्रियाशील रहेकोले ढुक्क भएर चाडपर्व मनाउन एसपि घिमिरेले रौतहटबासीलाई आग्रह गरेका छन्। चाडपर्वको समयमा सर्वसाधारणको सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी समन्वयमा चौबिसै घन्टा खटिरहेको जानकारी एसपि घिमिरेले गराएका छन्।

तर घर छाडेर बाहिर जानुपर्दा घरमा एक जना कुरुवा राख्नु उचित हुने तथा नजिकको प्रहरी युनिटलाई जानकारी गराउने सुझाव दिँदै एसपि घिमिरेले घर छाडेर बाहिर जानुपरे घरमा महँगा गहना तथा ठूलो रकम नराख्न पनि सुझाव दिएका छन्।  

गाउँटोलमा कुनै अपरिचित मानिस पटकपटक देखिएमा वा कुनै शंकास्पद गतिविधि देखिएमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेर समयमै जानकारी गराए सम्भावित घटनालाई रोक्न सकिने एसपि घिमिरेको भनाइ छ।  

चाडपर्वको समयमा सबारी दुर्घटनाबाट जोगिन सबारी चालक सचेत हुनुपर्ने सुझाव दिँदै एसपि घिमिरेले दुर्घटना हुनबाट जोगाउन ट्राफिक प्रहरीका साथै जिल्लाका सबै युनिटका प्रहरीलाई विशेष निगरानी गर्न निर्देशन दिइएको जानकारी गराएका छन्।

प्रकाशित: २७ आश्विन २०७८ १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App