७ वैशाख २०८१ शुक्रबार
समाज

मन्त्रीको गाडीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना, दुई जना घाइते

नेपालगन्ज–कोहलपुर चारलेन सडक अन्तर्गत राँझामा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। नेपालगन्जबाट कोहलपुरतर्फ जादै गरेको बा२ख २५९८ नम्बरको हाइसले भे ११ प ९५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन्।  

अस्थायी ट्राफिक बिट गनापुरका इन्चार्ज एवम् ट्राफिक प्रहरी नायव निरीक्षक(सई) सिद्धि गणेश शाहका अनुसार मोटरसाइकल चालक बाँके, जानकी गाउँपालिका वडा नम्बर ६ कोठारपुर निवासी ३६ वर्षका इद्रिस साई र सोही ठाउँका २१ वर्षीय कलिम नाउँ घाइते भएका हुन्। ट्राफिक प्रहरीका अनुसार गलत साइडमा गुडेको हाइसले मनिकापुरबाट राँझा चोकतर्फ जादै गरेको मोटरसाइकललाई दिउँसो ३ः३० बजेतिर ठक्कर दिएको थियो।  

काठमाडौंबाट जहाजमार्फत नेपालगन्ज विमानस्थल आइपुगेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ प्रहरीको स्कटिङ र आफ्ना कार्यकर्ताको मोटरसाईकल र्‍यालीसहित कोहलपुरतर्फ गइरहेका थिए। सो क्रममा पछाडी रहेको हाइस दायाँ पट्टीको लेनमा गएर ओभरटेक गर्न खोज्यो। त्यसपछि विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दियो।  

‘मन्त्री ज्यू सवार गाडीलाई ओभरटेक गरेर अगाडि जाने क्रममा हाइस रङ साइडमा गयो, त्यही बेला मनिकापुरबाट राँझा चोकतिर आइरहेको मोटरसाइकललाई ठक्कर दिएको हो,’ शाहले नागरिकसँग भने।  

ठक्कर दिने हाइसलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घाइते दुबैको उपचार गर्न हाइस चालकको जिम्मा लगाइएको र उनीहरुको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाईकल र हाइसको अगाडिको भागमा क्षति पुगेको छ।

प्रकाशित: २७ आश्विन २०७८ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App