७ वैशाख २०८१ शुक्रबार
समाज

मधेसमा दुर्गा पूजाको उल्लास

लहान नगरपालिका–७ पुरानो बजार स्थित प्रशिद्ध दुर्गा मन्दिरमा पूजाआजा गर्दै श्रद्धालुहरु। तस्बिर: मिथिलेश/नागरिक

आपसी सद्भाव, एकता, उत्साह, उमंगको साझा पर्व दसैं मधेससहित देशभर उल्लासपूर्वक मनाइँदै छ। बेहुली झै सजिएका शक्तिपीठहरुमा पूजाका लागि श्रद्धालुहरुको भीड लागेको छ।

लहानको दुर्गा मन्दिरलाई सिँगारिएर झकिझकाउ बनाइएको छ। वरिपरि रंगीचंगी प्रवेशद्वार निर्माण गरिएको छ भने आकर्षक झाल-फानूस तथा बिजुलीबत्तीले श्रृंगारिएको छ।

स्थानीय दुर्गा पूजा समितिहरु श्रद्धालुहरुको भीड व्यवस्थापनदेखि पूजा सामग्री व्यवस्थापनमा जुटेका छन्। पोहोर कोरोनाले कहर मच्चाउँदा दुर्गा मन्दिरमा पूजा गर्न आउने श्रद्धालुको उपस्थित न्युन थियो। यसपाली घटस्थापनादेखि नै दैनिक साँझ विहान पूजाका लागि आउने श्रद्धालुको भीड देख्न सकिन्छ।

मिथिलाञ्चलमा वर्षमा चार वटा नवरात्रा मनाइन्छ। अषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी चारवटा नवरात्रा मनाइने गरेको हो। यी मध्ये अश्विन शुक्ल नवरात्रा विश्वभरका हिन्दु धर्मावलम्वीहरु निष्ठा एवं उल्लासका साथ मनाउने गर्छन्। यस्तै, चैत्र शुक्ल र आश्विन शुक्लपक्षको नवरात्रा मिथिलाञ्चलमा धुमधामका साथ मनाइन्छ। जसमा श्रद्धालुहरु शक्तिको आराधना गर्ने गर्दछन्। अषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ। यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन्।

दसैंको पहिलो दिन घटस्थापनाका दिन शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरिन्छ। जहाँ  नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ।  

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको शूर्यनारायण सत्यनारायण मरबैता बहुमुखि क्याम्पस सिरहाका मैथिली भाषाका सह प्राध्यापक उमेश झा(ललन)ले बताए। सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने विश्वास छ।

‘दसैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ। शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ। विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ,’ झाले भने।

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले पूजाकोठा वा दसैं घर लिपपोत गरिन्छ। विधिपूर्वक दीप, कलश स्थापना गरी पूजा गरिन्छ। सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको आह्वान गरेर पूजन हुने गर्दछ। यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ। भगवती दुर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गरेर नवरात्रा सम्पन्न हुने उनले बताए।

मन्दिर वरिपरि सडकमा रंगीचंगी बेलुनलगायतका सामग्री बेच्नेहरुका कारण मेलाको अनुभूति दिलाउँछ।

प्रकाशित: २७ आश्विन २०७८ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App