७ वैशाख २०८१ शुक्रबार
समाज

मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने

रूपन्देहीको मोतिपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही रु एक लाख दिने भएको छ। मृतक परिवारलाई राहतस्वरूप नगद सहयोग गर्ने र दुवै पक्षबाट भएका घाइतेको उपचारको जिम्मेवारी सरकारले लिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए।

आज बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले राहत प्रदान गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन्। मुख्यमन्त्री केसीले मोतीपुरका वास्तविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।

बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्माले घटना सम्वेदनशील भएको बताउँदै आगामी दिनका लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्न अनुरोध गरे।  

बुटवल उपमहानगरपालिका–१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको थियो।

घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकासँगको दोहोरो झडपमा परी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका हुन्। झडपमा गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारु र दङ्गा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षीय जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७८ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App