४ वैशाख २०८१ मंगलबार
समाज

चौतिस वर्षपछि प्रहरीलाई बल्ल पक्की घर !

कर्णाली नदीको भंगालो र खाता करिडोरबाट आवागमन गर्ने सर्वसाधरणको सुरक्षाको जिम्मेवारी बोकेको प्रहरी चौकी कोठियाघाटमा कार्यरत प्रहरी कर्मचारीको रातदिन तीन दशक खरको झुप्रोभित्र  बित्यो। चौकी वरीपरी रातभरी जंगली जनावर देखिने ती दिन कति प्रहरीको मानसपटलमा अझै ताजै छ। खरको बारले बेरेको ढाँटभित्र बसेर बर्षौं पहिल्यैदेखि सुरक्षा दिन तल्लिन प्रहरीको व्यथा कहालीलाग्दो थियो। 

मधुवन नगरपालिकाभित्र पर्ने चौकीका प्रहरी असुरक्षित देख्दा सुरक्षाको चिन्ता त गर्थे। तर, लामो समयदेखि कसैले अग्रसरता नदेखाउँदा कोठियाघाट चौकीमा कार्यरत प्रहरी समस्या ज्यूको रह्यो। जिल्लाको प्रहरी प्रमुख ईश्वर कार्कीले जिम्मेवारी सम्हालेको ६ महिना नहुँदै प्रहरी चौकीले काँचुली फेर्यो। दुईकोठे कच्ची भवनमा गुजारा गरिरहेको चौकीले सुबिधा सम्पन्न भवन पाएको छ।

तीन दशक अघिको पक्की भवन बस्ने प्रहरी सहकर्मीका  सपना सोमबार पूरा भएको एसपी कार्कीले बताए। ‘वन्यजन्तुको आक्रमणको उच्च जोखिम सहकर्मीलाई थियो,’ उनले भने, ‘ औपचारिक उद्घाटन गरेर सहकर्मीलाई पक्की घरमा सार्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ।’ उनका अनुसार चौकीको भवन निर्माण कार्य सुरु भएको ४९ औ दिनमा भवन सम्पन्न भएको छ। देशकै लामो पुलसँगै जोडिएको नवनिर्मित भवनमा सोमबारदेखि प्रहरी चौकी सरेको छ। प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुबिधा सम्पन्न भवनमा सुरक्षाकर्मी तैनाथ हुनेछन्।

गोलघर, भान्सा र मन्दिरसहित कार्यालयको कामकाज नवनिर्मित घरबाट संचालन हुनेछ। तीन दशकपछि अति संवेदनशील क्षेत्रमा प्रहरी चौकी भवन पाउँदा खुसी लागेको नगर प्रमुख कृष्ण केसीले बताए।

मधुवन नगरपालिका र स्थानीयको स्वतफुर्त योगदानमा उक्त भवन तयार भएको एसपी कार्कीले जानकारी दिए। १२ लाख ८७ हजार रुपैयाँमा भवन निर्माण सम्पन्न भएको निरीक्षक गौतमले जानकारी दिए।

प्रकाशित: २५ आश्विन २०७८ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App