coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गण्डकी ‘साक्षर प्रदेश’ घोषणा

मन्तव्यमा चिप्लिए प्रधानमन्त्री

गण्डकी प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर: उमेश पुन/नागरिक

गण्डकीलाई ‘साक्षर प्रदेश’ घोषणा गरिएको छ। गण्डकी प्रदेश सरकारद्वारा आईतबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गरेका हुन्।

साक्षर प्रदेश भएकोमा गण्डकी प्रदेश, प्रदेशबासी र प्रदेश सरकारलाई प्रधानमन्त्री देउवाले बधाई समेत दिए।साक्षर प्रदेश घोषणा अघि प्रधानमन्त्री देउवाले नयाँबजारमा रहेको प्रदेश संग्रहालयमा निर्माण गरिएको ‘साक्षरता स्तम्भ’को अनावरण गरे।

प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा भएकाले प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको गण्डकी प्रदेशका प्रमुख सचिव दामोदर रेग्मीले बताए। प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहको औषत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको छ।

त्यस्तै, प्रदेशको राजधानी कास्कीमा ९६ प्रतिशत साक्षरता प्रतिशत रहेको छ भने स्याङ्जामा ९६.१६ प्रतिशत, तनहुँमा ९६.४० प्रतिशत, लमजुङमा ९५.५ प्रतिशत, गोरखामा ९७.२० प्रतिशत र नवलपुरको ९८ प्रतिशत साक्षरता रहेको छ। यसैगरी पर्वतको ९६.९३ प्रतिशत, बागलुङको ९६.५७ प्रतिशत, म्याग्दीको ९६.२७ प्रतिशत, मनाङको ९६.९० प्रतिशत र मुस्ताङको ९६.३५ प्रतिशत साक्षरता रहेको प्रदेश सरकारले जनाएको छ।

राष्ट्रसंघको विश्वव्यापी अभ्यास अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चिता गरेको छ। सोहि अभ्यासलाई आधार बनाएर नेपालमा पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चितता भएका क्षेत्र, जिल्ला, प्रदेश वा राष्ट्रलाई साक्षरता घोषणा गर्न सकिने नीति पारित गरेको छ। यहि नीति अनुसार प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बताए। उनले प्रदेशका ८५ वटै स्थानिय तह र ११ वटै जिल्लामा साक्षरता घोषणा भइसकेको बताए।

गण्डकी प्रदेशमा १५ वर्ष मुनिका २ प्रतिशत निरक्षर रहेको मन्त्रालय शिक्षा महाशाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिए। उनका अनुसार यस प्रदेशमा ९८.५ प्रतिशत विद्यालय भर्नादर रहेको छ। साक्षरता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साक्षरता प्रदेश घोषणा हुनु गर्वको विषय भएको बताए। उनले साक्षर भन्दापनि शिक्षित जनशक्ति आवश्यक रहेको भन्दै त्यसो भयो भनेमा विकास, समृद्धि र सुशासन आउने बताए।

मन्तव्यमा चिप्लिए प्रधानमन्त्री

गण्डकीलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्तव्यका क्रममा दुईपटक गलत तथ्य प्रस्तुत गरेका छन्। अर्ध लिखित सम्बोधनको शुरुमै उनले महाकवी लक्ष्मीप्रसाद देवकोटा र युवा कवि मोतिराम भट्टको जन्मभूमि गण्डकी प्रदेश हो भनेर उनले गलत सन्देश दिए।

त्यस्तै गण्डकी प्रदेश साक्षर प्रदेश बन्ने पहिलो प्रदेश भएको भनेर उनले दोश्रो गलत सन्देश दिए। प्रधानमन्त्रीले गण्डकी प्रदेश साक्षर प्रदेश बन्ने पहिलो प्रदेश भनेपनि उनले दिएको तथ्याङ्क सहि होइन। किनभने यसअघी नै वागमती प्रदेश साक्षर प्रदेश घोषणा भइसकेको छ। त्यसैले साक्षर प्रदेश हुने अवसर वागमती प्रदेशले प्राप्त गरेको छ।

श्रोतका अनुसार प्रधानमन्त्रीले दिएको महाकवि देवकोटा र युवा कवि भट्ट गण्डकी प्रदेशका हुन् भन्ने र गण्डकी पहिलो साक्षर प्रदेश भन्ने तथ्याङ्क लिखित भाषणमा थिएन। श्रोतले भन्यो, ‘लिखित भाषणमा त्यस्तो थिएन, उहाँ आफैले मौखिक भाषण गर्दा गलत तथ्याङ्क आयो।’ प्रधानमन्त्री देउवाले गलत तथ्याङ्क दिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्रीको व्यापक आलोचना भएको छ।

प्रकाशित: २४ आश्विन २०७८ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App