नेपालगन्जकी अधिकारकर्मी रुबी खानविरुद्ध बहुविवाह सम्बन्धी मुद्दामा बाँके प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। न्यायका लागि भन्दै नेपालगन्जबाट करिव २० दिन पैदल हिँडेर काठमाडौं पुगेकी उनलाई नेपाल प्रहरीको सिंहदरबार वृत्तले शुक्रबार बेलुकी माइतीघर क्षेत्रबाट पक्राउ गरेको थियो।
रुबीलाई पक्राउ गर्नुको कारण सुरुमा नखुलाएको प्रहरीले शनिबार बेलुकी नेपालगन्ज ल्याएर बहुविवाह मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। ‘उहाँ(रुबी) विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बहुविवाह सम्बन्धी मुद्दा दर्ता थियो, अदालतबाट पक्राउ पुर्जी लिएर भदौंमा पक्राउ गरी अनुसन्धान अगाडि बढाउने हाम्रो योजना हो, तर उहाँ(रुबी) त्यसविरुद्ध अदालत जाँदा बीचमा पक्राउ गर्न समस्या भयो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेले नागरिकसँग भने, ‘अदालतमा दायर भएको रिट खारेज भएपछि अहिले पक्राउ गर्ने बाटो खुलेको हो।’
प्रहरीले उनलाई शनिबार बेलुकी काठमाडौंबाट सिधैं जहाजमार्फत ल्याएर जिप्रकाको हिरासतमा राखी अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।
डिएसपी न्यौपानेका अनुसार अधिकारकर्मी रुबीकाविरुद्ध गत भदौंमा बहुविवाह गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भइ अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी प्रहरीको खोजीमा थिइन्। प्रहरीका अनुसार रुबीले आफूलाई बिना आधार बहुविवाह मुद्दामा पक्राउ गर्न खोजिएको जिकिर गर्दै तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर गरेकी थिइन्।
उनको रिटलाई यही असोज ६ गते अदालतले खारेज गरिदिएपछि पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए। अदालतले रिट खारेज गर्न सक्ने शंका मानेरै रुबी न्यायका लागि भन्दै असोज १ गते नेपालगन्जबाट पैदल यात्रामा निस्केकी थिइन्।
गत साउन ६ गते जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु भएको घटना र गतवर्षदेखि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ परस्पुर निवासी निर्मला कुर्मीको अवस्था अज्ञात सम्बन्धी घटनाको प्रहरीले खोजबिन नै नगरेको भन्दै उनले बाँकेमा केही दिन प्रदर्शनसहित काठमाडौंसम्म पुगेर आन्दोलनको नेतृत्व गरेकी थिइन्।
काठमाडौं पुगेको भोलिपल्टै बाँके प्रहरीको आग्रहमा काठमाडौं प्रहरीले रुबीलाई पक्राउ गरेको डिएसपी न्यौपानेको भनाइ छ। खानलाई बहुविवाह गर्ने मुस्लिम अधिकारकर्मी मोहम्मद शेर बागवानलाई पनि प्रहरीले खोजी गरिरहेको छ। बागवानले घरमा श्रीमती हुँदा हुँदै पनि रुबीलाई विवाह गरेको अभियोग लागेको छ।
उनी मुस्लिम समाज विकास चेतना केन्द्र बाँकेको अध्यक्ष हुन्। रुबीले लामो समयदेखि सोही संस्थामा काम गर्दै आएकी थिइन्। रुबी र बागवानमाथि लागेको अभियोग पुष्टी भएमा उनीहरु दुबैलाई एक वर्षदेखि ५ वर्षसम्म कैद सजाय र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ।
अधिवक्ता लोकबहादुर शाह भन्छन्, ‘कसैले बहुविवाह गरेको ठहर भएमा महिला र पुरुष दुबैलाई एक वर्षदेखि ५ वर्षसम्म कैद सजाय र १० हजारदेखि ५० हजारसम्म जरिवाना हुनेछ, र विवाह पनि स्वतः बदर हुन्छ।’
प्रकाशित: २३ आश्विन २०७८ १६:१४ शनिबार