८ वैशाख २०८१ शनिबार
समाज

‘कब्रिस्तान’ बाट बरामद शव परीक्षणका लागि काठमाडौं पठाइयो

वीरगन्ज–१३ मुर्लीस्थित ‘कब्रिस्तान’ (मुस्लिमहरुको अन्त्येष्टी हुने ठाउँ) बाट प्रहरीले नियन्त्रणमा लिएको १४ वर्षीया बालिकाको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ। 

प्रहरीका अनुसार भारतीय किशोरीको बलात्कारका कारण रक्तस्राव भएर मृत्यु भएको सूचनापछि गाड्नको लागि ठिक्क पारिएको किशोरीको लागि बिहीबार नियन्त्रणमा लिइएको थियो। शव बरामद हुनुभन्दा १२ दिन अगाडि अर्थात असोज १० मा उनी अधिक रक्तरस्रावले वरिगन्जकै प्रभु अस्पतालमा बालिकालाई उनका भिनाजु जाफिर मियाँले भर्ना गराएका थिए। त्यसको २ दिनपछि उनी डिस्चार्ज भएकी थिइन्।

वीरगन्जकै नारायणी अस्पतालमा शवको पोष्टमार्टम हुँदै आएको छ। यस पटक बलात्कार भए नभएको यकिन गर्न र शवको घाँटीमा पनि निलो डाम देखिएकोले गहन परीक्षण आवश्यक देखिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

नारायणी अस्पतालकै चिकित्सकको सिफारिससमेत लिएर प्रहरीले ती किशोरीको शव पोष्टमार्टमका लागि शुक्रबार साँझ काठमाडौं पठाएको हो। भारतको बिहारको नेपालसंग सीमा जोडिने पश्चिमी चम्पारण जिल्लाको इनर्वा बजार नजिकै सीमावर्ती खमिया गाउँकी १४ वर्षीया जयुनत खातुनको भिनाजुको घरमा नेपाल आएकी थिइन्। 

किशोरीका भिनाजु जाफिर जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँका कान्छा छोरा हुन्। १० गते रक्तरश्राव भएर अस्पताल पुर्याएका उनका भिनाजु जाफिरले नै अस्पताल पुर्याएका थिए। उनले नै १२ गते डिस्जार्च गराएको पाइएको प्रहरी उपरीक्षक पाण्डेले बताए। बिहीबार साँझ घट्नाको सूचना पाएपछि प्रहरीले खोज्दै जाँदा किशोरीको शव ५/६ जनाले हतारमै गाड्न खोजेका थिए।

खाल्डो खनेर ठिक्क पारेको र बक्सामा बन्द गरि शव नजिकै राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। नारायणी अस्पतालका चिकित्सक अजित सिंहले प्रहरीले खोजको तथ्यहरु फेला पार्न यहाँ जाँचको लागि काठ्माडौं रेफर गरिएको बताए। शवलाई पोष्टमार्टमका लागि काठ्माडौ, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको नारायणी अस्पतालले जनाएको छ।

जबरजस्ती करणीका कारण भित्रि अंगमा आघात भएर अत्याधिक रगत बगेपछि १४ वर्षीया किशोरीको मृत्यु भएको र घटना लुकाउन शवलाई गाड्न थालिएको सूचना प्रहरीलाई आएको थियो। 

घट्ना गम्भीर खाले देखिएकोले अनुसन्धानमा कुनै त्रुटि हुन नदिन प्रहरी चनाखो भएको देखिन्छ। काठमाडौंमा ‘फरेन्सिक टिम’ गठन गरेर जाँच गराएर विज्ञको राय लिन शव पठाइएको प्रहरी र चिकित्सक दुबैले जनाएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा बिहीबार साँझ ९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। 

यसमध्ये ५ जना अहिले पनि प्रहरीकै हिरासतमा छन्। मृतकका भिनाजु पर्ने गाउँपालिका अध्यक्षका कान्छो छोरा जाफिर मियाँ र जेठा छोरा वसीर मियाँ फरार रहेको र प्रहरीले खोजिकार्य गरिरहेको जनाएको छ। पोष्टमार्टमको रिपोर्ट काठमाडौंबाट आएपछि थप पुष्टी हुने गरी प्रहरीले अनुसन्धान बढाएको छ।

प्रकाशित: २३ आश्विन २०७८ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App