८ वैशाख २०८१ शनिबार
समाज

चाँगुनारायणद्वारा सिडिओ शर्मालाई स्वागत, जिसस महासंघ अध्यक्ष र उद्योग वाणिज्य अध्यक्षलाई बधाई

भक्तपुरको चाँगुनारायण नगरपालिकाले भक्तपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भई आएकी रुद्रादेवी शर्मालाई स्वागत गरेको छ। नगरपालिकाले एक कार्यक्रम आयोजना गरी प्रजिअ शर्मालाई स्वागत गरे भने जिल्ला समन्वय समिति महासंघका नवनिर्वाचित अध्यक्ष नवराज गेलाल र नवगठित चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्ष श्रीभक्त काशिछ्वालगायतलाई बधाई दिएको छ।

विजया दशमी, दीपावली, नेपाल संवत् छठलगायतका साँस्कृतिक पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो। सो क्रममा प्रजिअ शर्माले भक्तपुरलाई तीनै स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने बताइन्। उनले जिल्लामा हुने विकास निर्माणकार्यलाई प्रभावकारी बनाउन, शान्ति सुरक्षा सबल बनाउन, विपद् व्यवस्थापनलाई प्राथमिकता राखी काम गर्ने योजना रहेको सुनाइन्।

सोही अवसरमा जिसस प्रमुख गेलालले भक्तपुरमा धेरै राजनीतिक असहमति नरहेको अवस्था रहेकाले काम गर्न सहज भएको बताए। उनले राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र झौखेलमा बन्ने तयारी भइरहँदा केन्द्रका डा पुकारचन्द्र श्रेष्ठले अन्यत्र सार्नतिर लागेको जानकारी दिँदै सो काम नगराउन जिप्रकाले पहल गर्नुपर्ने बताए। उनले केन्द्र सार्नका लागि चलखेल भइरहेको बताउँदै चलखेलका क्रममा राजनीतिक दलबाट आउने धम्कीदेखि नडराउन समेत आग्रह गरे।

सोही अवसरमा उनले चाँगुनारायण नगरपालिकाले गरिरहेको अभ्यासको चर्चा गर्दै सो काम अन्य पालिकाले समेत अनुशरण गर्नुपर्नेमा जोड दिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीले विजया दशैको शुभकामना दिँदै चाडपर्वमा स्वास्थ्यबारे पनि ख्याल गर्न अनुरोध गरेका थिए।  

कार्यक्रममा चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्ष श्रीभक्त कासिछ्वाले नगरपालिकामा उद्योगको विकास गर्नका लागि पहल गर्ने बताए। उनले उद्योग विकासका लागि नगरपालिकासँग समन्वय गरी अघि बढ्ने बताए। कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला र नगर शिक्षा शाखा प्रमुख वीरबहादुर खड्कालगायतले शुभकामना दिँदै नगरपालिकाले गरिरहेको विभिन्न क्रियाकलापबारे चर्चा गरेका थिए।

प्रकाशित: २२ आश्विन २०७८ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App