८ वैशाख २०८१ शनिबार
समाज

गण्डकी अब साक्षर प्रदेश

गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्नेबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट । तस्बिरः उमेश पुन/नागरिक

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ। गण्डकी प्रदेशलाई यहि असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको हो।

प्रदेशका ८५ वटै पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिएको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

गण्डकी प्रदेशमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहको औसत साक्षरता प्रतिशत ९६.५७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशको राजधानी कास्की जिल्लामा ९६ प्रतिशत साक्षरता प्रतिशत रहेको छ भने स्याङ्जामा ९६.१६ प्रतिशत, तनहुँमा ९६.४० प्रतिशत, लमजुङमा ९५.५ प्रतिशत, गोरखामा ९७.२० प्रतिशत र नवलपुरको ९८ प्रतिशत साक्षरता रहेको छ। त्यस्तै, पर्वतको ९६.९३ प्रतिशत, बागलुङको ९६.५७ प्रतिशत, म्याग्दीको ९६.२७ प्रतिशत, मनाङको ९६.९० प्रतिशत र मुस्ताङको ९६.३५ प्रतिशत साक्षरता रहेको जनाइएको छ।

राष्ट्रसंघको विश्वव्यापी अभ्यास अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चिता गरेको छ। सोहि अभ्यासलाई आधार बनाएर नेपालमा पनि १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चितता भएका क्षेत्र, जिल्ला, प्रदेश वा राष्ट्रलाई साक्षरता घोषणा गर्न सकिने नीति पारित गरेको छ।  

यहि नीति अनुसार प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दि । उनले प्रदेशका ८५ वटै स्थानीय तह र ११ वटै जिल्लामा साक्षरता घोषणा भइसकेको बताए।

प्रकाशित: २२ आश्विन २०७८ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App